पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउनुभएको छ ।

Advertisement

विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उहाँ भारी मतले विजयी हुनुभएको छ । विकासप्रेमी नेताको छवि बनाउनुभएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उहाँ करिब एक वर्ष जेल बस्नुभएको छ । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बस्नुभएको छ । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहनुभएका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

विसं २०१५ भदौ २७ गते खड्गबहादुर बस्नेत र कोमलमाया बस्नेतको सुपुत्रका रूपमा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सानोपलातीमा जन्मनुभएका बस्नेत पञ्चायतकालमा विद्यार्थीकालदेखि नै प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय हुनुभएको हो । राजनीतिसँगै शिक्षण, व्यापार, कृषि र पशुपालनमा पनि सक्रिय उहाँले प्रवेशिका परीक्षा दिने जिल्लाका धेरै विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गराउनुभएको थियो । बाढीपहिरो, भूकम्प, कोरोना महामारीजस्ता विपत्तिका बेला उहाँले सक्रिय भएर काम गर्नुभएको थियो । विशेषगरी कोरोना महामारीका बेला स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण उपलब्ध गराउन उहाँले विशेष सक्रियता देखाउनुभएको थियो ।

विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उहाँले महत्वपूर्ण काम गर्नुभएको छ । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि उहाँले २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हाल्नुभएको थियो । बस्नेतले लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गर्नुभएको छ ।

Advertisement

यसैक्रममा उहाँले अमेरिका, जापान, रसिया, बेलायत, फ्रान्स, इटाली, नेदरल्याण्ड, जर्मनी, अष्ट्रिया, स्वीजरल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, चीन, हङकङ, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान, बङ्गलादेश, मकाउ, सिङ्गापुर आदि देशको भ्रमण गर्नुभएको छ । कांग्रेसको केन्द्रीय खेलकुद विभाग प्रमुख भएर पनि उहाँले काम गरिसक्नुभएको छ । बस्नेतको नेतृत्वमा सत्ता गठबन्धनले जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले एमालेका शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याउनुभएको थियो । तामाङले यसअघि २०७० र २०७४ मा यस क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री