मतदान केन्द्रलाई समावेशी र अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान केन्द्रलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ ।

Advertisement

आयोगले आज एक निर्देशिका जारी गर्दै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको हो ।

आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति २०७७ र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०७९ मा लैङ्गिक तथा समावेशी सिद्धान्तको कार्यान्वयनमा जोड दिएको हो ।

मतदान कक्ष बनाउदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाई वा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले पनि सजिलै मत सङ्केत गर्न सक्ने गरी निर्माण गर्न आयोगको निर्देशन छ । साथै, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताका लागि विश्राम गर्ने ठाउँको व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।

“गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई मतदानमा प्राथमिकता दिनुपर्ने छ”, निर्देशिकामा भनिएको छ ।

Advertisement

आफ्नो मत सङ्केत गर्न नसक्ने मतदाताका साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा उक्त व्यक्ति मतदान गर्न असमर्थ व्यक्ति हो वा होइन यकिन गरी मतदान कक्षमा प्रवेश गर्ने अनुमति मतदान अधिकृतले अनुमति दिनसक्ने निर्देशिकामा उल्लेख छ ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैङ्गिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउन समेत निर्देशन दिइएको छ । उहाँले गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पु¥याउन र फर्किनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न समेत निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री