शुक्रबार, १६ चैत २०८०

नेताहरुले भने,‘भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण सफल भयो’

समयपोष्ट २०७३ कार्तिक १९ गते ११:४७


नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिन नेपाल भ्रमणले चिसिएको नेपाल–भारत सम्बन्धमा न्यानोपनको संकेत देखा परेको बताएका छन् । 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. रिजालले राष्ट्रपति मुखर्जीको यो भ्रमण सद्भावपूर्ण भ्रमण भएकोले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा सुधार तथा विश्वास बढेको बताएका हुन् । उनले अघि थपे,‘मुखर्जीको नेपाल भ्रमण राम्रो हो, महत्वपूर्ण हो, यो हाम्रो लागि पनि खुशीको विषय हो ।’
नेता रिजालले आफू सरकारको प्रवक्ता हुँदा नै नेपाल–भारत सम्बन्ध चिसिएको उल्लेख गर्दै भने,‘त्यतिवेलै नेपाल–भारत सम्बन्ध चिसिएको हो, अहिले न्यानोपना आएको छ ।’ 
उनले अनावश्यक रुपमा भारतलाई गाली गर्दा यसको बेफाईदा नेपाललाई नै हुने बताए । रिजालले अघि भने,‘भारत हाम्रो छिमेकी मात्रै होईन, नेपालको विकासमा सहयोग पुर्याउने असल मित्र पनि हो ।’ रिजालले नेपालका दुवै छिमेकी मुलुक भारत र चीन ठूलो संभावना बोकेर अन्र्तराष्ट्रिय मञ्चमा उभिरहेको अवस्थामा नेपालले पनि त्यसबाट लाभ लिने कुरामा बढि जोड दिनुपर्ने बताए । 
उनले संविधान संशोधनको विषयमा भारतलाई जोड्न नुहने धारणा राखे  । यद्धपी उनले संविधानमा भारतले आफ्नो तर्फबाट सुझाव दिएपनि संविधानका विषय नेपालको आन्तरिक विषय भएकोले यसमा भारतलाई अनावश्यक रुपमा मुछ्न नुहने उनको सुझाव थियो । 
संविधान सम्झौताको दस्तावेज भएकोले यसमा कसैले पनि आफूले भनेजस्तो नहुने बताउँदै रिजालले भने,‘मधेश केन्द्रित दलले आफूले भनेजस्तो हुनुपर्छ भनेर भन्नुहुँदैन्, सम्झौताको दस्तावेज भएकोले त्यही अनुसार अघि बढ्नुपर्छ ।’ उनले पछिल्लो समय मधेशी मोर्चाले आफ्ना मागका एजेण्डाहरुलाई झनै फराकिलो बनाउने काम गरेको असन्तुष्टि पोखे । 
नेता रिजालले अब मुलुकमा राजनीतिक मुद्दाभन्दापनि आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखे । उनले थपे,‘अब बार्दलीमा उभिएर छिमेकीलाई गाली गरेर केही पाईदैन, यो कुरामा हामी सबै सचेत हुनुपर्छ ।’
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि मुखर्जीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा सुधार आएको स्पष्ट पारेका छन् । रायमाझाले भने,‘उहाँको यो सद्भावपूर्ण भ्रमणलाई हाम्रो पार्टीले एकदमै सकारात्मक रुपमा लिएको छ, यो भ्रमणले द्धिपक्षीय सम्बन्ध बलियो बनाउँछ ।’
उनले छिमेकीहरुसँगको सम्बन्ध समयसापेक्षित बनाउनुपर्नेमा जोड दिँदै भने,‘भारत हाम्रो नजिकको साथी हो, हामी धेरै नजिक छौं, कहिलेकाहीँ उतारचढाव रहनु वा आउनु स्वभाविक नै हो ।’
रायमाझीले विगतका कमजोरीहरु सच्याउँदै द्धिपक्षीय सम्बन्ध समय सान्र्दर्भिक बनाउनुपर्नेमा जोड दिए । उनले थपे,‘यो भ्रमणले एक आपसको सम्बन्ध सुधार गर्ने मनोविज्ञानको रुपमा मैले लिएको छु ।’ रायमाझीले मुखर्जीको तीन दिन नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको टिप्पणी गरे । 
उनले संविधान संशोधनको लागि सहमति भए सहमतिबाटै टुँगो लगाउने नभएर सम्झौताको रुपमा मधेश केन्द्रित दलहरु अघि बढ्नुपर्ने धारणा राखे । यद्धपी उनले मधेशी मोर्चाले उठाएका मागहरु जायज भएको बताए । उनले थपे,‘उहाँहरुका माग तथा विषयवस्तुप्रति मेरो कुनै टिप्पणी छैन, तर समस्या हल गर्ने विधिको कुरामा मेरो गम्भिर असहमति छ ।’
उनले संविधान संशोधन सहमतिबाट नभए आन्दोलनको आँधीबेहरीबाट गर्न सक्नुपर्ने त्यो पनि नभए आफ्ना एजेण्डाहरुलाई चुनावी एजेण्डा बनाउनुपर्ने सुझाव दिए । उनले थपे,‘अहिले काँग्रेस र माओवादी केन्द्रको मात्रै दुईतिहाई पुग्दैन, त्यसैले एमाले लगायत सबै दलहरुसँग सहमति भएमात्रै संविधान संशोधन हुन्छ, सरकारले मात्रै चाहेरपनि यो संविधान संशोधन गर्न सक्दैन ।’ उनले सरकारले त व्यवस्थापन गर्ने काम मात्रै गर्ने दाबी गरे । 
उनले संविधान संशोधन पारित नहुनु हो भने प्रस्ताव ल्याउनुको कुनै अर्थ नहुने समेत धारणा राखे । सहमतिबाट संविधान संशोधन हुने अवस्था नभए मोर्चाका साथीहरुले असहमितका विषयहरुलाई नोट अफ डिसेन्ट बनाएर चुनावमा गएर दुई तिहाई ल्याउने र आफ्नो मुधा संविधान संशोधनमार्फत स्थापित गराउन सक्ने विकल्प पेश गरे । 
नेकपा एमालेका नेता तथा नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराईले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण गुडविल भिजिट भएकोले उनको भ्रमणले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन सकारात्मक योगदान पुर्याएको बताए । उनले अघि थपे,‘द्धिपक्षीय सम्बन्ध सही ढंगबाट अघि बढ्न सहयोग पुगेको छ ।’
लामो समयदेखि द्धिपक्षीय उच्चस्तरीय भ्रमण हुन नसकिरहेको अवस्थामा भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण हुनु सकारात्मक भएको टिप्पणी गर्दै भट्टराईले भने,‘यस्ता खाले भ्रमणले द्धिपक्षीय सम्बन्ध सकारात्मक दिशामा अघि बढ्न मद्दत पुग्छ, राजनीतकि सम्वादमा देखिएको ग्याप अन्त्य हुन्छ ।’ नेपालको राष्ट्रपति विद्या भण्डारीको पनि छिट्टै भारत भ्रमण हुने भएकोले द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने उनको विश्वास थियो । 
असन्तुष्टहरुको माग सम्वादको मार्फत हल गर्नुपर्नेमा जोड दिँदै भट्टराईले अब नेपालमा राजनीतिक कुरामा भन्दापनि आर्थिक विकास र सामाजिक रुपान्तरणगको लागि बढि ध्यान दिनुपर्ने बताए । 
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमणले नेपाल–भारतवीचको द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको दाबी गरेका छन् । 
देवले भने,‘उहाँको भ्रमणसँगै द्धिपक्षीय सम्बन्ध र आपसी हितका विषय गहन छलफल भएको छ, उहाँको भ्रमण अत्यन्तै सफल भयो ।’ मुखर्जीको सफल भ्रमणको दुरगामी फाईदाहरु पछि थाहा हुने समेत उनको दाबी थियो । 
उनले विगतमा जे भएपनि अब त्यसलाई विर्सिएर अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धहरुलाई अघि बढाउनतर्फ ध्यान दिनुपर्ने बताए । उनले भारत र चीनसँगको नेपालको सम्बन्धमा अब पूरानो आईडियोलोजीले काम नगर्ने समेत तर्क गरे । उनले थपे,‘सम्बन्धमा अब हामीले पूर्नभाषित गर्नुपर्छ, पूर्नसंरचना र पूर्नदिशातर्फ अघि बढाउनुपर्छ, यसो भयो भनेमात्रै दुवै देशलाई फाईदा हुन्छ ।’
द्धिपक्षीय सम्बन्धमा समस्या भएपनि यसलाई कुटनीतिक माध्यमबाट हल गर्नुपर्ने उनको धारणा थियो । उनले भने,‘यसलाई हामीले डोमेस्टिक पोलिटिकल एजेण्डा बनाउनुहुँदैन् ।’ उनले भारत र चीनलाई हेर्ने दृष्टिकोणमा नेपालले आन्तरिक एकता अपनाउनुपर्ने बताए । 
मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले पनि मुखर्जीको नेपाल भ्रमण अत्यन्तै सफल भएको टिप्पणी गरे । यादवले भने,‘उहाँको भ्रमण हामी सबैको लागि खुशीको विषय हो, उहाँको भ्रमणले नेपाल र भारतवीचको सम्बन्धमा आपसी विश्वास बढाएको छ ।’
विगतमा चिसिएको नेपाल–भारत सम्बन्ध मुखर्जीको तीन दिने नेपाल भ्रमणले सुधार गरेको समेत उनको दाबी थियो । यद्धपी उनले नेपालले दुवै छिमेकी मुलुकसँग उतिकै प्रगाढ सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । 
विगतका सरकारले नै संविधान अनुमोदन गर्नको लागि भारतसँग अनुनय विनय गरेको आरोप लगाउँदै भने,‘हामीले त अधिकारमात्रै माँगेका हौं, हामीले भारतलाई कहिल्यै विन्तिपत्र हालेका थिएनौं र छैनौं ।’
उनले आफूहरुले भनेबमोजिम संविधान संशोधन हुनुपर्नेमा जोड दिए । उनले संविधानमा आफूहरुको माग पूरा नभए कुनैपनि निकायको चुनाव हुन नसक्ने ठोकुवा गरे । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री