शनिबार, १५ वैशाख २०८१

मौद्रिक नीति समीक्षामा गरिएको व्यवस्थाले तरलता सहज पार्न सहयोग पुग्छ : नेपाल उद्योग परिसंघ

पत्रपत्रिका २०७८ मंसिर ११ गते ७:२७

Advertisement

नेपाल उद्योग परिसंघले मौद्रिक नीति समीक्षामा गरिएको व्यवस्थाले तरलता सहज गर्न सहयोग पुग्ने बताएको छ ।

परिसंघले शुक्रवार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समीक्षामार्फत चालू आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपातको प्रावधानलाई ९० प्रतिशत नै कायम गर्दै त्यसको कार्यान्वयनको खाका निर्माण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई भनिएको छ जसबाट तरलता व्यवस्थापनमा केहि राहत हुने बताएको छ ।

यसैगरी विज्ञप्तिमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाउने समीक्षामा उल्लेख भएबाट यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने पनि उल्लेख छ ।

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको भन्दै उसले गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको बताएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको उल्लेख गर्दै विभिन्न वस्तुहरुको आयातमा कडाई गर्ने संकेत देखाएको भन्दै उसले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री