बुधबार, १४ माघ २०७७

तेह्रौँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक

समयपोष्ट २०७७ मंसिर १४ गते २०:५४

Advertisement

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक वर्षपछि १३औँ दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताउनुभयो । राखेपले आज पत्रकार सम्मेलन गर्दै २०७६ साल मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा सञ्चालन भएको १३औँ सागको खर्च विवरण सार्वजनिक गरेको हो ।

साग सम्पन्न भएको तीन महिनाभित्रै सागको खर्च विवरण सार्वजनिक गर्ने योजना भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको उल्लेख गर्नुभयो । सदस्यसचिव सिलवालका अनुसार साग खेलकुदतर्फ रु एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको छ भने पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको छ । सरकारबाट, टिकट बिक्रीबाट, विज्ञापनबाट र सागमा सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल रु एक अर्ब ३७ करोड २७ लाख ९४ हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । यसैगरी रु एक करोड ९३ लाख ८० हजार खर्च गर्न नसकी फ्रिज भएको सिलवालले बताउनुभयो ।

सदस्यसचिव सिलवालका अनुसार टिकट बिक्रीबाट रु दुई करोड ६७ लाख ११ हजार, विज्ञापनबाट रु २० लाख ९९ हजार तथा सहभागी राष्ट्रहरुबाट रु ११ करोड २१ लाख ३५ हजार प्राप्त भएको थियो । साग प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा रु ११ करोड ५९ लाख ८८ हजार खर्च भएको छ । होटल बसोबासमा रु १३ करोड ५९ लाख ६७ हजार, खेल सामग्री व्यवस्थापनमा रु २८ करोड २२ लाख ८३ हजार, राष्ट्रिय टोली व्यवस्थापनमा रु ३० करोड ८० लाख ८१ हजार तथा सचिवालयतर्फ रु १५ करोड १७ लाख ९२ हजार खर्च भएको छ ।

यसैगरी १३औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय सङ्घलाई प्रदान गरिएको पुरस्कारबापत गरी रु २२ करोड ७६ लाख खर्च भएको राखेपले जनाएको छ । सदस्यसचिव सिलवालका अनुसार रु तीन करोड ५५ लाख ७१ हजार मौज्दात रहेको छ । सरकारले साग सञ्चालन गर्नका लागि रु एक अर्ब २३ करोड १८ लाख ४८ हजार उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच सदस्यसचिव सिलवालले यसवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनेर घोषणा गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो मङ्सिर मसान्तसम्म लाग्ने बताउनुभयो । कोरोना महामारीका कारण नवौँ राष्ट्रिय प्रतियोगिताको समय तालिका निर्धारण गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगिता कोरोना सङ्क्रमण बढाउनका लागि नभएको उहाँको भनाइ थियो । यस्तै १४औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भएको तर पाकिस्तानले गर्नसक्ने वा नसक्नेबारे निर्णय गर्न बाँकी रहेको सिलवालले उल्लेख गर्नुभयो । पाकिस्तानले साग आयोजना गर्न असफल भए बङ्गलादेश र श्रीलङ्काले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री