आइतबार, ६ जेठ २०८१

मन्त्री हेरफेरको गृहकार्य : को हट्दैछ, को मन्त्री बन्दैछन् ?

पत्रपत्रिका २०८१ वैशाख २६ गते ६:३७

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । बालुवाटार स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्ति बस्नेतसहितका केही मन्त्रीलाई हटाएर केही नयाँलाई अवसर दिन खोजिएको हो ।जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)का नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको छ । राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि सो दलले सरकारलाई समर्थन र सहयोग रहनुका साथै प्रचण्ड नेतृत्वको गठबन्धनलाई नै निरन्तरता दिने बताएको छ ।

राई नेतृत्वको जसपाबाट अहिले वन तथा वातावरणमन्त्री रहेका नवलकिशोर साहलाई निरन्तरता दिने र सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादवलाई मन्त्री बनाउने तयारी छ ।

उपेन्द्र यादव विदेशमा रहेका बेला पार्टी विभाजन भएको थियो । निर्वाचन आयोगले दल दर्ता गरी कानुनी मान्यतासमेत दिइसकेको छ । नेपाल फर्किएपछि मंगलबार यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । उनले आफू विदेशमा रहेका बेला एमाले र माओवादी केन्द्रले मिलेर पार्टी विभाजन गराएको गुनासो पोखे । यता, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानन्त्री प्रचण्ड र एमाले नेताहरूले जसपा विभाजनमा आफूहरूको संलग्नता नरहेको प्रस्टीकरण दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । हाललाई श्रेष्ठलाई बिनाविभागीय वा कुनै मन्त्रालय दिएर मन्त्री बनाउने विषयमा प्रचण्ड आन्तरिक छलफलमै रहेका छन् ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रयासमा वर्तमान गठबन्ध भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने गृहकार्य भएपछि सत्तारूढ दलहरू विभाजन भएका हुन् । जसपा नेपाल विभाजन भइसकेको र केही समयमै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नाउपासमेत विभाजन हुनसक्ने चर्चा भइरहेको छ । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री