मंगलबार, ८ जेठ २०८१

शिक्षामा सीप: विद्यार्थीका बाह्र सय सिर्जना प्रदर्शनी

समयपोष्ट २०८१ वैशाख २८ गते २१:०४

Advertisement

शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाडौँका विभिन्न सरकारी विद्यालयले बनाएका कला सिर्जनाको आजदेखि प्रदर्शनी थालिएको छ ।

काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको ‘स्केचिङ एन्ड स्कप्चर’ तालिमबाट विद्यार्थीले बनाएका कलाकृतिको प्रदर्शनी थालिएको हो ।

प्रतिष्ठानको कार्यालय नक्सालमा प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप कार्यक्रम गरिएको बताउनुभयो । उहाँले शिक्षा र सीप, कला र सिर्जनाबीच अन्योन्याश्रित सम्बन्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सीपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो ।

Advertisement

उहाँले महानगरका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीहरूले तयार गरेका एक हजार दुई सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरूमा गाह्रो देखिए पनि त्यसको नतिजा देख्दा खुसी लागेको बताउनुभयो । “कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसात् गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको बताउनुभयो ।

यही वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मावि, रत्राज्य मावि., ज्ञानोदय मावि., तरुण मावि, गीतामाता मावि., कन्या मन्दिर मावि., शहिद शुक्र मावि., पद्मकन्या विद्याश्रम मावि र कोटेश्वर सरस्वती माविका विद्यार्थीहरूले सिर्जना गरेका कलाकृति राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री