बुधबार, १२ वैशाख २०८१

यो राज्यलाई सहयोग गर्ने बेला हो,सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुहोस् : अर्थमन्त्री

समयपोष्ट २०७७ मंसिर ११ गते २१:४१

Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कसैको लोभलालचमा नपरी काम गर्न भन्सार र राजश्वका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रहित सम्झेर काम गरेमा राम्रो परिणाम आउने बताउनुभयो ।

भैरहवा भन्सार कार्यालयको निरीक्षणपछि आज साँझ भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, यसमा कर्मचारीको विशेष भूमिका हुन्छ । त्यसैले तपाईंहरुले दृढताकासाथ सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुहोस् ।”

अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । उहाँले देशको विकासका लागि अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहने भएको हुँदा अर्थ सङ्कलनका लागि कर्मचारी इमान्दारीपूर्वक राजश्व असुलीमा लाग्नुपर्ने बताउनुभयो । करदाता र कर प्रशासनको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउँदै उहाँले हार्दिकता, मैत्रीपूर्ण, उत्प्रेरणा र चेतनशील भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्री पौडेलले कहीँकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै गुनासो नआउने किसिमले कामको परिणाम निस्कने गरेर काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले राजश्व अभिवृद्धिमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकाले सबल अर्थतन्त्र निर्माणका लागि सबै कर्मचारी एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । नेकपा महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन गर्न धौंधौ भइरहेको जनाउँदै स्रोत व्यवस्थापन गर्न नसके राष्ट्रकै आर्थिक जीवनमा असर पर्ने बताउनुभयो ।

मन्त्री पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भैरहवा नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण अघि बढाउन पहल भइरहेको जनाउनुभयो । पन्ध्र वर्षअघि भारत सरकारको लगानीमा भैरहवा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता भए पनि भारतीय पक्षको उदासिनताका कारण काम अघि बढ्न सकेको छैन । जसले गर्दा भैरहवा भन्सारको दैनिकी काम सहजरुपमा हुन सकेको छैन । मन्त्री पौडेलले बेलहिया–बुटवल व्यापारिक मार्ग अब चाँडै नै निर्माण सम्पन्न हुने जनाउनुभयो ।

आयोजना प्रमुख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग आफूले कुराकानी गरेको जनाउँदे उहाँले सडकको चाँडै नै उद्घाटन गर्ने उल्लेख गर्नुभयो । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले आइसिपी निर्माणलाई चाँडो अघि बढाउन पहल गर्न मन्त्री पौडेलसँग आग्रह गर्नुभयो । उहाँले पार्किङ अभावमा भन्सारमा जामको समस्या भएको बताउँदै अहिले गाडी पार्किङ गर्ने ठाउँ साँघुरो हँुदा जाँचमा समेत ढिलाइ भएको समस्या सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री