मंगलबार, ११ वैशाख २०८१

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त

rss २०७७ कार्तिक २३ गते ११:१७

Advertisement

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो ।

एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिनसम्ममा प्रहरी हवल्दारका लागि सात र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनोट प्रक्रियाका लागि अर्को सूचना आह्वान गरिने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । गाउँपालिकाको शान्ति, सुरक्षा एवं दैनिक कार्यसम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।

सात वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको जनाइएको छ । गाउँप्रहरी हवल्दारका लागि एसइई वा सोसरह उत्तीर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला र पुरुषबाट दरखास्त आह्वान गरिएको छ ।

हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ । उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिकरूपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । गाउँप्रहरीसँगै चार अहेव (सहायक चौथो) र तीन अनमी (सहायक चौथो) नियुक्तिका लागि समेत दरखास्त आह्वान गरेको थियो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै तीन जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया शुरु गर्ने तयारी गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको नगरपालिकामा नगर प्रहरी भर्नाका लागि नगरसभाबाटै नीति पारित गरिएको छ ।

नेकपाको श्रम शिविर

जन्तेढुङ्गा गाउँपालिकामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णयानुसार नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविर सञ्चालन गरेको हो ।

जिल्ला सचिवालय समितिको निर्णयलगत्तै असोज ३० गतेको गाउँपालिका समितिको अर्को निर्णयानुसार उक्त गाउँपालिकाको सबै वडामा एकैदिन श्रम शिविर सञ्चालन गरिएको गाउँपालिका समिति अध्यक्ष यामकुमार राईले बताउनुभयो । श्रम शिविरअन्तर्गत सडक तथा गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ ।

नेकपाको गाउँपालिका समितिको समन्वयमा सम्बन्धित वडा समितिको अगुवाइमा वर्षाका कारण बिग्रे÷भत्केका सडक तथा गोरेटो बाटो मर्मतसम्भार गरिएको जनाइएको छ । नेकपाले वडा नं १ देवीस्थानमा मैनटारबाट सिक्किमटार जोड्ने सडक मर्मत गरेको छ । सो सडक वर्षाको पहिरोले भत्काएको थियो ।

यस्तै देवीस्थानकै खनियाबासबाट रिला जोड्ने सडक र गोरेटो बाटो मर्मत गरिएको छ । वडा नं २ बोपुङमा ह्युराङदेखि पाँडेगाउँ जाने सडक मर्मत गरिएको नेकपाले जनाएको छ । बङ्शिलाघाट जोड्ने ह्युराङ–पाँडेगाउँ सडक गत कात्तिक ९ गते परेको भारी वर्षाले भत्किएको थियो । नेकपाले सञ्चालन गरेको श्रम शिविरका माध्यमबाट पहिराले भत्काएको सडकको पर्खाल लगाइएको छ ।

यस्तै वडा नं ३ काहुलेमा सालम्बुबाट बुँवाखोलासम्मको सडक मर्मत गरिएको छ । वडा नं ४ डम्वर्खुशिवालयमा कुइभिर भञ्ज्याङखर्क सडकखण्डको एक किलोमिटर खण्ड मर्मतका साथै नाली काट्ने काम गरिएको छ । वडा नं ५ चिसापानीमा सुरुङ्गेलबाट मैदानसम्मको दुई किलोमिटर लामो पुरानो गोरेटो बाटो मर्मत गरिएको जनाइएको छ । वडा नं ६ दिप्लुङमा ऐतिहासिक एवं पर्यटकीयस्थल जन्तेढुङ्गाको परिसर सरसफाइ गरिएको नेकपा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । श्रम शिविरमा ज्येष्ठ नागरिक ७६ वर्षीय लक्षुमान रोइलाको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री