बिहीबार, २७ वैशाख २०८१

पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न, मुलुकभर ६५ प्रतिशत मत खस्यो

समयपोष्ट २०७४ मंसिर १० गते १२:२७

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी ३२ जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरे । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

Advertisement

मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेपनि लाइनमा बसेका मतदाताले मतदान नगर्दासम्म मतदान गर्नसक्ने गरी व्यवस्था मिलाएको थियो । 

६ वटा प्रदेशका ३२ जिल्लाका ३७ प्रतिनिधि सभासदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको यो निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जना उम्मेदवारले हार व्यर्होनु पर्ने निश्चित छ । यद्यपी मतगणना भने दोस्रो चरणमा मंसिर २१ को निर्वाचन पछिमात्रै हुने निर्वाचन आयोगले यसअघि नै जनाइसकेकाले परिणाम पनि त्यसपछि नै आउनेछ ।

गत कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । कात्तिक ८ गते सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ति उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो । जसमा १०० जनाको उम्मेदवारी फिर्ता भएको थियो भने एक जनाको उम्मेदवारी रद्द समेत भएको थियो ।

निर्वाचन आयोगका अनुसार  प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको हो भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको थियो । 

Advertisement

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाता मताधिकारका लागि नाम लेखाएका थिए । पहिलो चरणको निर्वाचनका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री