शनिबार, १५ वैशाख २०८१

हेर्नुहोस् कृत्रिम गर्भाशय, प्रि-म्याच्युअर बेबीको लागि कति सुरक्षित ?

समयपोष्ट २०७६ कार्तिक २५ गते १३:५९

Advertisement

वैज्ञानिकहरूले समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशयको विकास गरेका छन् ।

द नेदरल्याण्ड्सका वैज्ञानिकहरूले गर्भ रहेको सामान्यताया ३७ हप्ताभन्दा अघि जन्मेका शिशुहरुलाई पनि जिवितै राख्न सकिने गरि यो कृत्रिम गर्भाशय विकास गरिएको छ । सामान्यतया गर्भ रहेको ३७ हप्ता अघि नै जन्मेका शिशुहरुको मृत्युदर उच्च छ ।

यसलाई रोक्न यो उपकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वैज्ञानिकहरुको विश्वास छ । द नेदरल्याण्ड्सका चिकित्सक र डिजाइनरहरुले समय पुग्नुभन्दा धेरै पहिला जन्मिने शिशुका लागि कृत्रिम गर्भासय बनाइरहेका छन् । द नेदरल्याण्ड्सका डिजाइनर लिसा मेडमेकरेले भनिन, ‘हामीहरु यो कृत्रिम गर्भाशयको प्रभाव बारे हेर्दैछौं । यसभित्र पाँचवटा ठूला बेलुन छन् । जहाँ शिशुहरु आफ्नै तरल पदार्थमा पौडी खेले जसरी बस्नेछन् ।’ यहाँ पाइपबाट रक्तसञ्चार र अन्य आवश्यक तरल पदार्थ सञ्चार हुनेछ । माक्सिमा मेडिकल सेन्टरका स्त्रीरोग विशेषज्ञ डा. गुइड ओईका अनुसार २७ वर्ष अघि स्त्रीरोग चिकित्सकको तालिम लिँदै गर्दा यो उपकरणको सम्भावना बारे थाहा भएको थियो । उनले भने, ‘खास फरक के हो भने कृत्रिम गर्भाशय तरल पदार्थले भरिएको हुन्छ । इन्क्युबेटर हावाले भरिएको हुन्छ । समयभन्दा धेरै अघि जन्मिएका शिशुका लागि इन्क्युवेटर प्रतिकुल स्थान बन्दै आएको छ । तर इन्क्युवेटरले शिशुको फोक्सोमा हानी पुर्याउनसक्छ ।’

समयभन्दा धेरै अघि जन्मिएको र धेरै नै सानो शिशुलाई कृत्रिम गर्भाशयभित्र राख्दा क्षति कम हुने देखिएको छ । कृत्रिम गर्भाशयमा यस्ता शिशुलाई राख्ने बित्तिकै उसलाई कृत्रिम सालसँग जोडिन्छ । कृत्रिम गर्भाशयमा पानी र अन्य आवश्यक पोषणतत्व भरिएको तरल पदार्थ हुन्छ । यहाँ नाभीमार्फत शिशुले अक्सिजन र अन्य पोषण आमाको गर्भमा जसरी नै पाउँछ । यहाँ शिशुलाई केही साता राखिनेछ । शिशु बढ्छ र चार हप्तापछि उसलाई फेरि जन्माइन्छ ।

यो उपकरणको विकासले धेरै शिशुको जीवन बचाउन सक्ने वैज्ञानिकहरुको दावी छ । संसारमा प्रत्येक वर्ष १ दशमलब ५ करोड शिशु समय नपुगी जन्मिन्छन् । ती मध्ये आधाजसोको मृत्यु हुन्छ । डा. गुइड ओइले भने, ‘मेरो विचारमा भविष्यमा कृत्रिम गर्भाशय महिलाको जीवनशैलीको अंग बन्नेछ ।’ गर्भावस्थामा वाकवाकी लाग्ने तथा शरीरमा हुने अन्य परिवर्तन नरुचाउने महिलाको लागि यो उपयुक्त विकल्प हुनेछ । यस्तै समलिंगीहरुका लागि पनि यो महत्वपूर्ण हुनेछ । हाम्रो समाजमा प्राकृतिक प्रजजनलाई उचित तरिका मानिन्छ । तर प्राकृतिक प्रजजनबाहेक अरु पनि उपाय छन् । बच्चा जन्माउन नसक्ने महिलाको लागि भने यो समाधान हुनसक्छ जस्तो नलाग्ने वैज्ञानिकहरुको भनाइ छ । यसले बच्चामा पर्ने असरबारे केही थाहा नभएको जनाइएको छ । यसको अल्पकालिन र दीर्घकालिन असरबारे पनि केही निश्कर्ष निस्किसकेको छैन । यो परियोजना पुरा हुन अझै पाँच वर्ष लाग्ने जनाइएको छ । परियोजना पुराभएपछि मात्रै मानव शिशुमा प्रयोग गर्ने वैज्ञानिकहरुको भनाइ छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री