निर्वाचनको माहोल बनाउन प्रधानमन्त्री कार्कीले आज दल र जेनजीसँग छलफल गर्दै

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेता तथा जेनजी अगुवाहरूसँग त्रिपक्षीय छलफल गर्ने भएकी छन्।
निर्वाचनको वातावरण निर्माण गर्न पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीहरू सम्मिलित बैठक बोलाइएको हो।
अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने छलफलमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता तथा जेनजीका प्रमुख प्रतिनिधिहरू सहभागी हुनेछन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन सफल बनाउन चरणबद्ध वार्ता भइरहेको बताए। “निर्वाचनको माहोल बनाउन सबै पक्षलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको हो,” उनले भने।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। प्रधानमन्त्री कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबै पक्ष सकारात्मक देखिएका थिए।
यसबीचमा विभिन्न औपचारिक तथा अनौपचारिक संवाद भएका छन्। लामो समयपछि भएको राजनीतिक संवादले निर्वाचनको वातावरण बनेको सम्बद्ध पक्षहरूको भनाइ छ।
सरकारले निर्वाचन आयोगसँग पनि निरन्तर छलफल गरी तयारी तीव्र पारेको छ।




























प्रतिक्रिया