रवीन्द्र जडेजाकी श्रीमती रिवाबा गुजरातको मन्त्रीमा नियुक्त
भारतीय राज्य गुजरातको मुख्यमन्त्री भूपेन्द्र पटेल नेतृत्वको सरकारमा ठूलो फेरबदल भएको छ।
१६ जना मन्त्रीहरूले राजीनामा दिएकाे भोलिपल्टै २५ जना नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) ले सन् २०२७ को विधानसभा चुनावको तयारीलाई मुख्य कारण बताएको छ।
नयाँ मन्त्रिपरिषद्मा भारतीय क्रिकेटर रवीन्द्र जडेजाकी श्रीमती रिवाबा जडेजालाई समेत समावेश गरिएको छ। जामनगर उत्तरकी विधायक रिवाबाले मन्त्रीको रूपमा सपथ लिएसँगै उनको चर्चा व्यापक भएको छ। सन् २०१९ को मार्चमा भाजपा प्रवेश गरेकी उनी छोटो अवधिमै मन्त्री बनेकी हुन्।
२०२२ को चुनावअघि रिवाबाले आफ्नो सम्पत्ति १०० करोड रुपैयाँ भएको घोषणा गरेकी थिइन्। इन्डिया टुडेकी रिपोर्ट अनुसार, भाजपाको यो कदम स्थानीय चुनाव र २०२७ विधानसभा निर्वाचनअघि युवा अनुहारहरू ल्याएर क्षत्रीय प्रतिनिधित्व सन्तुलन गर्ने रणनीति हो।
१९९० मा जन्मिएकी ३४ वर्षीया रिवाबा मेकानिकल इन्जिनियर हुन्। उनका काका हरि सिंह सोलंकी कांग्रेसका वरिष्ठ नेता छन्। सन् २०१६ मा रवीन्द्र जडेजासँग विवाह गरेकी उनी सन् २०१८ मा संजय लिला भन्सालीको फिल्म ‘पद्मावत’ विरुद्ध कर्णी सेनाको आन्दोलनमा जोडिएकी थिइन्।
रवीन्द्र जडेजा कर्णी सेनासँग आबद्ध भएका कारण रिवाबा पनि सक्रिय भएकी थिइन् र पछि कर्णी सेनाको महिला शाखाकी अध्यक्ष बनेकी थिइन्। यो आन्दोलनबाट नै उनको राजनीतिक यात्रा सुरु भएको मानिन्छ।
प्रतिक्रिया