राष्ट्र बैंकले सुन आयात र विप्रेषण भुक्तानीको सीमा बढायो

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा र विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा परिवर्तन गरेको छ। शुक्रबार जारी एकीकृत परिपत्र संशोधनमार्फत यी नयाँ व्यवस्थाहरू लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्याइएको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रअनुसार यो व्यवस्था तत्काल लागू हुनेछ।
त्यसैगरी, विप्रेषण सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सकिनेछ। यसअघि यो सीमा २० लाख रुपैयाँ थियो।
रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू अनिवार्य रूपमा लिनुपर्नेछ।
नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्नेछ।




























प्रतिक्रिया