आइतबार, २ कार्तिक २०८२

बाढी-पहिरोले क्षति पुगेका सडक पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड लाग्ने अनुमान

मेची राजमार्गमा सबैभन्दा बढी क्षति

समयपोष्ट २०८२ असोज २२ गते ९:२६

Advertisement

यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका सडक, पुल र अन्य संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलको पुनर्निर्माणमा १० अर्ब ६८ करोड रुपैयाँ खर्च हुनेछ। साथै, गत वर्षको विपद्बाट बाँकी रहेका संरचनाको पुनर्निर्माणका लागि थप १ अर्ब ७० करोड रुपैयाँ आवश्यक पर्ने बताइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी-पहिरोबाट अवरुद्ध सडकहरूलाई उच्च प्राथमिकतामा राखी मर्मत र सञ्चालनको काम भइरहेको जानकारी दिए। उनले भने, “अवरुद्ध सडकहरू जतिसक्दो छिटो सञ्चालनमा ल्याउन उपकरण र जनशक्ति परिचालन गरिएको छ। मन्त्रालय र मेरो तर्फबाट नियमित अनुगमन भइरहेको छ।”

यस वर्षको मनसुनले सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुर्‍याएको छ। मेची राजमार्गको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झन्डै ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ।

Advertisement

विपद्बाट क्षति पुगेका १७ वटा स्थायी पुलको पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। साथै, सडक सञ्चालनका लागि आवश्यक बेलिब्रिजको मर्मत र नयाँ निर्माणमा ८० करोड रुपैयाँ खर्च हुने बताइएको छ। वैकल्पिक सडकहरूको पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान छ।

मन्त्रालयले सडक सञ्जाललाई सुचारु राख्न तीव्र गतिमा काम भइरहेको र प्रभावित क्षेत्रमा यातायात सुविधा पुनःस्थापना गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री