अर्बौँ बक्यौता नबुझाएका ४३ उद्योगहरूको काटियो लाइन
विद्युत् प्राधिकरणले अर्बौँ रुपैयाँ बक्यौता नबुझाएका उद्योगहरूको लाइन काट्ने कारबाही अघि बढाएको छ। ८ साउनमा प्राधिकरणले तीन महिनाको म्याद दिएर बक्यौता चुक्ता गर्न समयावधि थपे पनि बिहीबार अन्तिम दिनसम्म पनि ४३ उद्योगहरूले तिर्न नमान्दा प्राधिकरणले राति नै उनीहरूको लाइन काटेको हो।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार थपिएको तीन महिनाको समयसम्म पनि बक्यौता बुझाउन उद्योगहरू तयार नभएपछि यो कदम चालिएको हो। बिहीबार मात्रै पाँच उद्योगले पहिलो किस्ता बुझाएका थिए, जसको साथै तीन महिनाको अवधिमा जम्मा १७ उद्योगले बक्यौता चुक्ता गर्ने वा तिर्न सुरु गरेको प्राधिकरणले जानकारी दिएको छ।
उद्योगहरूलाई पटक–पटक ताकेता गरे पनि धेरैले अटेरी गरेकाले प्राधिकरणलाई यो कठोर निर्णय लिन बाध्य बनाएको हो। प्राधिकरणलाई सरकारको तर्फबाट दबाब दिइएको भए पनि कार्यकारी निर्देशक घिसिङले कुनै औपचारिक निर्णय नभएपछि पुरानै निर्णयअनुसार लाइन काट्ने अडान लिएका थिए। ऊर्जामन्त्री दीपक खड्काले उद्योगहरूको लाइन नकाट्न दबाब दिएका थिए, तर घिसिङले तीन महिनाको अल्टिमेटमपछि कुनै निर्णय नगरे असुली प्रक्रिया अघि बढाउने आफ्नो प्रतिवद्धता दोहोर्याएका छन्।
प्राधिकरणले ८ साउनमा अल्टिमेटम दिँदासम्म ६१ उद्योगहरूले बक्यौता तिर्न बाँकी थियो। अन्तिम दिन बिहीबार पाँच उद्योगले पहिलो किस्ता बुझाएसँगै, तीन महिनाको अवधिमा बक्यौता चुक्ता गर्ने १७ पुगेका छन्। अन्य उद्योगहरूले भने आफ्नो नाम गोप्य राख्न दबाब दिएको प्राधिकरणले बताएको छ। विराटनगरको रिलायन्स स्पिनिङ मिल्सको हकमा भने अदालतले १२ कात्तिकसम्म कुनै कारबाही नगर्न आदेश दिएको छ, तर त्यसपछि प्राधिकरणले यस उद्योगमा पनि लाइन काट्न सक्ने जनाएको छ।
प्रतिक्रिया