शुक्रबार, १४ वैशाख २०८१

सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासीले नै पाएनन् खानेपानी

समयपोष्ट २०७९ असोज २० गते १९:५४

Advertisement

बडादसैँको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौँ उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन् ।

महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दसैँका दिनमै दुःख पाएको स्थानीय उपभोक्ताले गुनासो गरे । त्यसअघि नियमितजसो पानी आएको सुनाउनुहुँदै स्थानीय रमिला पुडासैनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लापरबाहीका कारण कहिले नियमित पानी आउने र कहिले हप्तौँ नआउने गरेको बताउनुहुन्छ ।

विसं २०२३ बनेको वाग्मतीको पानी प्रशोधन केन्द्रबाट वर्षाका समयमा दैनिक १५ करोड लिटरसम्म पानी सुन्दरीजलबाट राजधानीका अन्य स्थानमा वितरण हुने गरेको छ । तर यहीँका स्थानीयवासीले पानी नपाएर पुराना धारा, कुवामा पानी खोज्न टाढा टाढासम्म पुग्नुपरेको गुनासो गर्छन् । लिमिटेडले दुई दिन बिराएर पानी दिने तालिका बनाएको दाबी गर्ने गरे पनि मुहान क्षेत्रमै तालिकाअनुसार पानी दिन सकेको छैन । मुहान क्षेत्रकै जनताले पानी नपाएपछि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिले यहाँको स्रोतबाट यहीँ पानी नपुगी अन्त लैजान नदिने भनी पटकपटक भाषण गरे पनि कार्यान्वयन नभएको स्थानीयवासी बुद्ध लामा गुनासो गर्नुहुन्छ ।

नगरपालिकाकै धेरै वडामा अहिले पानी नआउने समस्या छ । नगरपालिकाका प्रवक्ता नारायण सुवेदी भने स्थानीय स्रोतको पानीको पहिलो प्राथमिकता नगरवासीलाई दिनुपर्छ भनी कार्यान्वयनमा लागिएको बताउनुहुन्छ ।

मेलम्चीको पानी पनि २६.५ किमी सुरुङ पार गरेर सुन्दरीजलकै प्रशोधन केन्द्रमा प्रशोधन गरेर काठमाडौँ उपत्यकामा वितरण गरिन्छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने तयारी भएको छ । वर्षाअघि आएको दैनिक १७ करोड लिटर पानी वर्षा रोकिएसँगै फेरि ल्याइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री