शुक्रबार, १६ चैत २०८०

सवैलाई मोहित पार्ने अर्घाखाँचीको मौलिक भैरव नाँच

rss २०७९ असोज १५ गते १४:००

Advertisement

अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको भैरव नाँच नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँशीसम्म नाचिन्छ । देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता रहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनःसुरु हुन्छ । यसमा कालभैरव मुख्य हुन्छ भने श्वेत भैरव र रातो भैरव सहायक हुन्, साथमा डंकिनी पनि हुन्छ ।

भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवान्को प्रतिकका रुपमा पूजा गरिन्छ । यद्यपि, डंकिनीलाई पनि पूजा गरिन्छ । डंकिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा शृङ्गार गरेको हुन्छ । यसको स्पष्टस्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ । तीनवटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको पनि प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउने मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यबादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ । यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरु मादलका रुपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), सहनाइ, धङ्कुरीलगायतका वाद्यबादन प्रयोग गरिन्छ ।

सातवटै ताल (पटक) को लय फरकफरक हुन्छ । तान्त्रिक विद्यामा निपूणलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि । भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन् ।

नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा, चरा, लाहुरे लाहुरेनी नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाचमध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ । भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ । यसको शैली भिन्नाभिन्नै छ । अर्घाखाँचीको भैरव नाँच गुल्मी, प्यूठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ । यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको अनुभूति प्रदान गर्छ । जसका कारण यसले अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री