शुक्रबार, १४ वैशाख २०८१

नेताहरु भन्छन्, ‘महाअभियोगको बारेमा हामीलाई थाहा छैन’

समयपोष्ट २०७३ कार्तिक ४ गते ९:३०

सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा नेपाल र मधेशी मोर्चाका नेताहरुले अख्तियार दुरूपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आधिकारिक रुपमा थाहा नभएको बताएका छन् ।
नेपाली काँग्रेसका नेता एनपी साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल पनि नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे । उनले अघि थपे,‘महाअभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं ।’
यस्तै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट पारेका छन् । 
शाहीले थपे,‘हामीले सांसदको स्वतन्त्र अधिकारको उपयोग गरेर यो प्रस्ताव ल्याएका हौं, मुलुकमा कानूनी शासनको निरीहिता रहनुहुँदैन भनेर हामीले स्वतन्त्र अधिकार प्रयोग गरेका छौं ।’
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले लोकतन्त्रलाई बलियो बनाउनको लागि भ्रष्टाचार निर्मुल पार्नुपर्ने बताए । उनले अख्तियार प्रमुख कार्कीले भ्रष्टाचार न्युनिकरणको लागि महत्वपूर्ण कामहरु गरेको स्मरण गर्दै भने,‘उहाँले भैष्टाचार रोक्नको लागि महत्वपूर्ण कदम चाल्नुभएको थियो, उहाँको काम गराईले धेरैमा तरंग पैदा भएको थियो, हामीले सुशासन समितिमा बोलाएर सानो माछा मात्रै नभएर ठूलै ह्वेल माछा समात्न समेत भनेका थियौं ।’
यद्धपी उनले महाअभियोग प्रस्ताव समितिमा दर्ता भएपनि यसको बारेमा आफ्ना पार्टीले अहिलेसम्म कुनै आधिकारिक धारणा नै बनाई नसकेको जिकिर गरे । गिरीले हिजोमात्रै महाअभियोग समिति गठन भएको उल्लेख गर्दै समिति गठन भएकै दिन महाअभियोग प्रस्ताव दर्ता पाएको कुरा मिडियामा मार्फत थाहा पाउँदा आश्चर्य लागेको बताए । उनले थपे,‘म स्वयम हाम्रो पार्टीको तर्फबाट समितिको सदस्य हुँ, तर मलाई यसबारेमा कुनै जानकारी नै थिएन ।’ यसले उनले नैतिकताको प्रश्न उठाएको बताए । 
मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गरेका छन् । 
सद्भावना पार्टीका सह–अध्यक्ष समेत रहेका नेता कर्णले महाअभियोग समिति गठन गर्दा पनि काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै भने,‘अरु दल छैन, यो देशमा, यी चार पार्टीले जे चाह्यो त्यही हुने ? यो कस्तो ठेकेदारी हो ?’ कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरुले गरेको गुनासो पोखे । 
उनले दिनभरि संसदमा सुत्नेहरु भ्रष्टाचार होईनन र भन्दै प्रश्न समेत गरे । संविधानको दुहाई दिएर आयोगलाई पंगु बनाउने काम भएको समेत उनको गुनासो थियो । 
मधेशी मोर्चा र काँग्रेस–माओवादी केन्द्रवीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख भएपनि सरकारले महत्वपूर्ण काममा अहिलेसम्म प्रवेश नै नगरेको कर्णले आरोप लगाए । संविधान संशोधनमार्फत आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने उनको भनाई थियो । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री