शुक्रबार, १६ चैत २०८०

विद्युतीय बस खरिदका लागि दसैँ अघिनै ग्लोबल टेन्डर आह्वान गरिने, चार्जिङ स्टेशन निर्माण प्रक्रिया भने अघि बढ्यो

समयपोष्ट २०७८ असोज १६ गते १२:२४

Advertisement

वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ ।

प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो ।

बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।

लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उहाँले जानकारी दिनुभयो ।

हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताउनुभयो ।

बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरिएकोे छ ।

बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री