शनिबार, ८ वैशाख २०८१

माया नपाउँदा यौन व्यवसाय र दुर्व्यसनीको शिकार

समयपोष्ट २०७६ असोज ३० गते १८:३२

Advertisement

पछिल्लो समय अभिभावको चेरचाह र माया नपाउँदा बालबालिका गलत बाटोमा लागेको पाइएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले गत साउनदेखि उद्धार गरिएका सडक बालबालिकाले आफूहरुलाई बाबुआमाको माया अभाव भएको निष्कर्ष निकालेको छ ।

परिषद्ले उद्धार गरी ल्याइएका बालबालिकालाई मनोसामाजिक परामर्शपछि के कारणले त्यस्तो गलत बाटोमा लागेको भनी गरेको प्रश्नमा उनीहरुले बाबुआमाको हेरचाह र मायाको अभाव भएका बताएका छन् ।

परिषद्का अनुसार यसरी उद्धार गरिएका बालिका यौन व्यवसायमा र बालक दुर्व्यसनीमा लागेको पाइएको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको टोलीले ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट त्यस्ता बालबालिका उद्धार गरिएको जनाएको छ ।

हालसम्म उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको र उनीहरुलाई मनोपरामर्श दिइ अविभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी गराए ।

गत साउनदेखि परिषद्ले नियमितरुपमा विभिन्न कारणले सडकमा अलपत्ररुप रहेका बालबालिकाको उद्धार गर्दै आएकामा असोज मसान्तसम्म मात्रै परिषद्ले २०० बालबालिका उद्धार गरिसकेको छ । यसरी अलपत्र रहेका बालबालिका तीन वर्षदेखि १८ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका नौ बालक र दुई बालिकाको उद्धार गरेको थियो ।

उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका छन् । उक्त संस्थाले आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्थाविपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री