पढ्नका लागि सरकारले नै बैङ्क फाइनान्सको व्यवस्था गर्नुपर्छ : आईआईएमएस कलेजका अध्यक्ष प्रणय सिंहको अन्तर्वार्ता
यो कलेजको अवस्था कस्तो छ ? के–के कार्यक्रमहरू सञ्चालन गरिरहनुभएको छ ?
हामीले यस कलेजमा छवटा कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । बीबीए, एमबीए, बीएचएम, बीआईटी र नेपालको अलग्गै प्रेमाइसिसमा बीएसीसीएस आइटी र बीसीए पनि छ ।
स्नातक तहको लागि हाम्रो कलेजमा बीबीए, बीआइटी, बीएचएम, बीसीएम, बीएसीसीएस आइटी छ । छवटा कोर्समध्ये पाँचवटा स्नातक तहको छ ।
यस कलेजका विशेषताहरू के–के हुन् ?
हामी विद्यार्थीहरूलाई जब प्रोभाइडर हुनुपर्छ भनेर प्रोत्सहान गर्छौं, सरकारले अथवा निजी क्षेत्रले मात्र सबैलाई रोजगारी दिन सक्दैन । त्यस कारण विद्यार्थीहरूलाई जब गर्नेभन्दा पनि जब दिने बन्नुपर्छ भनेर प्रोत्साहन गर्छौं । त्यसको लागि आवश्यक वस्तुहरू के–के हुन सक्छन्, त्यो सबै हामी यस कलेजमा ओरिन्टेसन गरेर दिन्छौँ ।
हामीले अन्तर्राष्ट्रिय र लोकल कार्यक्रम दुवै सञ्चालन गरिरहेका छौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीसीए, बीएसीसीएस आइटी छ । अन्तर्राष्ट्रिय कार्यक्रमहरू एमबीए, बीआईटी, बीएचएम, केआइटी, बीबीए छन् ।
हाम्रा विद्यार्थीहरू ९० प्रतिशत निजी सेक्टरमा खपत भएका छन् । नेपालका सबैजसो बैङ्कहरूमा हाम्रा विद्यार्थीहरू छन् । एमबीए गरेका करिब ८० प्रतिशत विद्यार्थीहरू बैङ्कमा छन् । कोही आफैँ उद्यमी भएका छन् । कसैले अनलाइन मार्केटिङ, कसैले आइटी कम्पनी, कसैले अटो मोबाइलको डिलर खोलेका छन् ।
विद्यार्थी उद्यमशील हुने शिक्षा कस्तो हुनुपर्छ ?
आमसर्वसाधारणको मानसिकता पढ्ने भनेको जागिर खानकै लागि हो भन्ने छ । तर आइटी, बिजनेस एजुकेसन, होटल म्यानेजमेन्ट जस्ता विषयमा ज्ञान हासिल गरिसकेपछि त्यो विषयमा विद्यार्थीले करिअर बनाउन सक्छ भन्ने मान्यता हो । त्यसका लागि सबै किसिमका आवश्यक ज्ञान विद्यार्थीहरूले यस कलेजमा प्राप्त गर्न सक्छन् । जस्तो– होटल व्यवसाय सञ्चालन गर्न कस्ता किसिमका क्रियाकलापहरू गर्ने, त्यो व्यवसाय सञ्चालन कसरी गर्ने भनी हामी सबै सिकाउँछौँ ।
रोजगारी प्राप्त गर्ने मात्र भन्दा पनि रोजगारी दिने हुनुपर्छ भनेर मोटिभेसन पनि दिन्छौँ । अर्को, जब सेक्योरको लागि हामीसँग जब प्लेसमेन्ट सेयर पनि छ । त्यस कारण हामी जनशक्ति उत्पादन मात्र गर्ने होइन कि उत्पादन गरिसकेपछि जब खोजिदिने काम पनि गर्छौं । जबको लागि पाठ्यक्रमबाहिरको कस्तो किसिमको ज्ञान हुनुपर्छ, त्यो किसिमको ओरियन्टेसन पनि हामी दिन्छौँ ।
नेपालबाट गत वर्ष ५० हजार र यो वर्ष मात्र ७५ हजार विद्यार्थी विदेशिएका छन् । त्यसको मतलब १ खर्ब ७ अर्ब रूपैयाँ विदेशियो । गत वर्ष मात्र ६० अर्ब रूपैयाँ बाहिर गयो । यो वर्ष ८० हजार विद्यार्थी भारत गएको तथ्याङ्क आएको छ । त्यो भनेको भारतमा मात्र नेपाली १६ अर्ब रूपैयाँ गयो । शिक्षामा नेपालको बजेट जति छ, त्यसको हाराहारी नेपाली रूपैयाँ बाहिरिएको छ । त्यस विषयमा सरकारले गम्भीरतापूर्वक चासो लिनुपर्छ । नेपालमा अध्ययनसँगसँगै रोजगारीको सुनिश्चितता हुन्थ्यो भने त्यतिका धेरै युवा विदेशिँदैन थिए । युवालाई स्वदेशमै रोक्न सरकारले उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न नसकेको देखिन्छ । हामी कहाँनिर चुक्यौँ ? यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको हामीले देखिरहेका छौँ । त्यस कारण यस विषयमा यहाँको शैक्षिक जगत, शिक्षाप्रेमी र सरकारले गम्भीर भएर सोच्नुपर्छ । अहिले पल्स टुका विद्यार्थीहरूको मानसिकता नै बाह्र पास गरेर विदेश जाने भन्ने रहेको छ । त्यस कारण जति पनि विद्यार्थीहरू नेपालमै छन्, उनीहरूप्रति मेरो सम्मान छ । नेपालभित्रै रोजगारी र गुणस्तरीय शिक्षाको सुनिश्चतता हुने वातावरण सिर्जना गर्नुपर्छ ।
विद्यार्थीहरू विदेश जानुको खास कारण के देख्नुहुन्छ ?
नेपालमा पढ्नका लागि खर्च मात्र हुने तर रोजगारीको सुनिश्चितता नहुने अवस्था छ । त्यस कारण विद्यार्थीहरूको आकर्षण त्यतातिर भएको हो जस्तो लाग्छ । अर्को, भारतलगायतका मुलुकहरूमा प्राविधिक विषयहरू जस्तो– एमबीबीएस, सिभिल इन्जिनियरिङ, आइटी कोर्सहरूका लागि सरकार फाइनान्स हुने अवस्था छ । नेपालमा त्यही कुराको लागि सरकार अथवा बैङ्क फाइनान्स हुने अवस्था छैन ।
नेपालमा राम्रो खुबी भएका विद्यार्थीहरू पैसाकै कारण पढ्न पाउँदैनन् । जसले पढ्छन्, उनीहरूले पनि ५०औँ लाख खर्च गरेर पढ्छन् । पछि त्यो विद्यार्थीलाई केही भइहाले अभिभावकको पैसा त्यसै गयो । केही व्यवस्था नहुने अवस्था छ । त्यस कारण धेरै खुबी भएका जेन्युयन मानिसहरूले पढ्न पाएका छैनन् । यस्ता जेन्युयन मानिसहरूलाई यस्ता प्राविधिक कोर्सहरूमा ल्याउनका लागि पनि सरकारले बैङ्क फाइनान्सको व्यवस्था गर्नुपर्छ । साथै, पढ्दै काम गर्ने वातावरण निर्माण गरिदिएर सर्टिफिकेट पाउने बेलासम्म लिएको ऋणसमेत अलि–अलि गरेर तिरिसक्ने वातावरण बनाउनुपर्छ । त्यसो हुँदा धेरै राम्रा जनशक्तिहरू यहाँ उत्पादन हुने थिए । मेडिकल, इन्जिनियरिङ र अन्य विषयहरूमा पनि सरकारले बैङ्क फाइनान्सको व्यवस्था गर्नुपर्छ । बङ्गलादेश र पाकिस्तानमा करोडौँ खर्च गरेर नेपाली विद्यार्थीले डाक्टर पढेर आउँछ तर कुनै एउटा गाउँमा जाऊ भन्दा ऊ जाँदैन । सरकारले नै फाइनान्स गरेर उत्पादन गरेको मान्छे छ भने सरकारले जहाँ जाऊ भन्यो, त्यहीँ जानुपर्छ । उसले खुसीसाथ सेवा पनि दिन्छ । तर करोडौँ खर्च गरेर पढ्ने विद्यार्थीहरूको सोच आफ्नो इन्भेष्टमेन्ट उठाउनेतर्फ हुन्छ ।
प्रतिक्रिया