निर्मलाका हत्यारा पक्राउ गरेको खोई ?

अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिँसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो ।

सञ्जालकी अध्यक्ष नीलम बर्माले दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।

Advertisement

उनले भनिन्,‘हाम्रो देशमा सरकार छ या छैन् ? के काम गरिरहेको छ ? यत्तिका हत्या भैरहँदा, यत्तिका बलात्कारका घट्नाहरु बढिरहेका छन्, बलात्कार, हत्या र एसिड आक्रमण गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गरियोस्, अपराधीहरुलाई तत्काल् पक्राउ गरेर पीडितलाई न्याय दिने काम गरोस्, हामीले आज ७७ वटै जिल्लामा प्रधानमन्त्रीको ध्यानाकार्षण गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाएका छौैं, हामीले उठाएका मागहरु सम्बोधन गर्नुपर्छ, हामीले महिला हिंसाको अन्त्य चाहेका छौं, शान्ति अमन–चयन खोजेका छौं, तर सरकार यसमा असफल भैरहेको छ ।’

न्याय माग्न सडकमा निस्किँदा गोली खानुपर्ने स्थिति रहेको सुनाउँदै उनले भनिन्,‘सरकारले भीड नियन्त्रण गर्न अन्य तरिका हुँदाहुँदै पनि गोलि हान्ने र समाजलाई उत्तेजित पार्ने काम गरेको छ्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ ? के गरिबले यसरी न्याय पाउन सक्छन् ?’

त्यस्तै सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिँसाका घट्नाका बारेमा सरकार गम्भिर नदेखिएको गुनासो पोखिन् ।
उनले भनिन्,‘हाम्रो देशमा ५१ प्रतिशत महिला छन्, के हामी महिला भएर जन्मिनु दोष हो ? के हामी राम्री हुनु दोष हो ? के हामीले पुरुषको ईच्छा अनुसार आफूलाई समर्पण गर्नैपर्ने हो ? शारीरिक सम्बन्ध गर्न तयार नहुँदा एसिडको सिकार हुनैपर्ने हो ? यो कस्तो खालको हिँसा हुँदैछ ? मुलुकमा गणतन्त्र आईसकेको छ । यस्तो प्रकारको हमला, हत्या र बलात्कारलाई सरकारले नियन्त्रण र निरुत्साहित पार्न सक्नुपर्छ।’

प्रेस वक्तव्य
सम्पुर्ण पत्रकार मित्र ज्यूहरु,

Advertisement

अन्तर पार्टी महिला सञ्जाल निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र पुर्नस्थापनाको लागि आन्दोलनरत सात राजनैतिक दलका महिला नेताहरुको संयुक्त प्रयासबाट स्थापना गरिएको साझा राजनीतिक मञ्च हो । हाल यसमा संघिय संसदको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु आवद्ध रहेका छन् । सञ्जालले आफ्नो स्थापनाकाल देखिनै राज्यका सम्पूर्ण निकायहरुको नीति निर्माण र निर्णय गर्ने तहमा जनसंख्याको आधारमा महिलाहरुको समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न तथा लोकतन्त्र पुर्नबहाली, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, दिगो शान्ति र संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नुको साथै महिला माथि भैरहेको हिंसाको विरुद्ध सशक्त आवाज उठाउ‘दै आईरहेको कुरा सर्व विदितै छ ।
हाल देश ब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गैरहेका छन् । कतै बोक्सीको नाममा महिला माथि क्रूर यातना दिने काम भैरहेका छन् भने कतै प्रथा परम्पराको नाममा महिला माथि अपमान र तिरस्कार भैरहेका छन् । कैलालीमा राधा चौधरीलाई बोक्सीको नाममा चरम यातना दिइएको पिडाको घाउमा खाटा बस्न नपाउँदै फेरी कञ्चनपुरमा श्रावण १० गते १३ बर्षीया बालिका निर्मला पन्तको पासबिक ढंगले बलत्कार र हत्या गरिएको छ । आज घटना घटेको दुई महिना वितिसक्दा पनि अझै अपराधिलाई कानुनको दायरामा ल्याउन सकिएको छैन । न्याय माग्न सडकमा निस्कीएका जनसमुदाय उल्टो प्रशासनिक दमनको शिकार बन्दा कतै सार्वजनिक पद धारण गरेका ब्यक्ति र शक्तिहरुले नै यो घटनाको ढाकछोप गरी अपराधीलाई संरक्षण गर्न खोजेको त होइन ? सर्वत्र आशंका बढेको छ ।
महिला र बालबालिकाहरु माथि हुने हत्या, बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु घट्नुको सट्टा झनझन बढिरहेका छन् । ९ महिनाकी दुधे बालिका देखि ७० वर्षकी वृद्धासम्म बलात्कार जस्तो जघन्य हिंसाको सिकार भइरहेका छन् । रुपन्देहीको सियारी गाउँपालिकाकी २ वर्षीया दुधेबालिका गत साउन १४ गते घरभित्रै बलात्कारको शिकार भइन । दमक झापामा गत साउन २९ गते कक्षा ९ मा पढ्ने १४ वर्षीय किशोरी सामूहिक बलात्कारमा परिन । चितवन भरतपुरमा साउन ३० गते १७ वर्षकी किशोरी र साउन ३१ गते माडी नगरपालिका ३ बघौडाकी १५ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरिएको थियो । हेटौडा उपमहानगरपालिका बसामाडीकी ४३ वर्षीया अपांगता भएकी महिलालाई भदौ २ गते घर छेउका कुवामा लुगा धुन गएको बेला ३३ वर्षीय राजाराम नेपालीले बलात्कार गरेका थिए । पोखरा १९ लामाचौरकी १३ बर्षीया पुष्पा के.सी को शव भदौ ८ गते शुक्रवारका दिन घरबाट साढे २ किलोमिटर पर भेटिएको छ । महोत्तरी औरही नगरपालिकाका सन्तोष चौधरीकी ९ महिने दुधे बालिका सोनालीको अपहरण पछि हत्या गरिएको छ । बालिकालाई भंगाहा सीतापुर ६ जमुनियाका भरत साहले खेलाउने बहानामा भाद्र १० गते आइतबार अपहरण गरेका थिए । पोखरा फेवाताल किनारको ड्यामसाइट पार्क नजिक भाद्र ११ गते पोखराकी १८ बर्षीया सुष्मिता लामिछानेको शव फेला परेको छ । भदौ १४ गते बिहीबार कञ्चनपुर बेलडाँडी १ की १५ बर्षीया किशोरी बलात्कृत भएकी छिन् । भदौ १५ गते कञ्चनपुर बेलडाँडी गाउँपालिका २, ढकनियाका ५७ बर्षीय राजेन्द्र विष्टले आफ्नै छिमेकी ६÷६ वर्षका २ बालिकालाई स्कुलबाट फर्किने बेला आफ्नै घरमा लगेर बलात्कार गरेका छन् । भदौ १८ गते सोमबार ललितपुरको कोडु खोलाबाट पूर्वपट्टिको गाउँमा ३९ वर्षीय बुबाले १० वर्षीया छोरीलाई बलात्कार गरेका छन् । भदौ २१ गते राजधानीको किर्तिपुरमा ११ वर्षे किशोरीलाई कैलाली घोडाघोडीका २५ वर्षीय हेम खत्रीले बलात्कार गरेका छन । रौतहट चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र बहिनी १५ वर्षीया सुस्मितालाई मंगलबार २६ गते राति सुतिरहेको बेला अज्ञात समूहले अनुहारमा तेजाब हालेर भागेको छ । राजधानीकै स्युचाटारमा असोज १ गते सोमबार २१ वर्षीया युवती अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य लामाबाट सामुहिक बलात्कारको सिकार भइन । असोज १ गते सोमबार राती नै म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घार धरमपानीमा १५ वर्षे किसोरी अर्जुन परियार र नविन परियारबाट सामुहिक बलात्कारको सिकार भईन । यी यस्ता घटनाले सिंगो मानव अधिकारको खिल्ली उडाएको छ भने आधा आकाश र आधा धर्ती ओगटेका महिला समुदायलाई नै लज्जित, अपमानित र आक्रोशित तुल्याएको छ ।
महिला हिंसा विरुद्ध थुप्रै कानूनहरु छन् ता पनि यस्ता हिंसाका घटनाहरु बारम्बार दोहोरिरहेका छन्, झनझन् क्रूर र हिंस्रक बनिरहेका छन्, आखिर किन ? एकातिर महिलालाई दोस्रो दर्जाको नागरिक र उपभोगको साधन ठान्ने सामन्ती पितृसत्ताबादी सोच विद्यमान छ । समाज झन पछि झन विकृति, विसंगति र अनैतिकताको अधोगति तिर गइरहेको छ । देशको उत्तराधिकारी युवा पुस्ता जाँड, रक्सी, जुवा, तास र लागु औषधको दुर्वेसनमा दिन प्रतिदिन दिन द्विगुना रात चौगुनाका दरले फस्दै गईरहेको छ । यसले पनि महिला माथि हुने बलात्कार जस्तो पासविक हिंसाको घटनालाई बढावा दिइरहेको छ । अर्काेतिर हिंसा विरुद्धका विद्यमान कानूनहरु सजायका लागि पर्याप्त छैनन् । तसर्थ यस्ता मानव अधिकार विरोधि हिंसाका घटना रोक्न कानूनमा प्रयाप्त व्यवस्था गरी अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिनु पर्दछ भने समाजमा विद्यमान विकृति, विसंगति, अन्धविश्वास, अशिक्षा र पछौटेपनको अन्त्य हुनु पनि उत्तिकै जरुरी छ ।
उपरोक्त सबै घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई कुनै पनि वाहानामा उन्मुक्ति दिइनु हु‘दैन । यस्ता हेरक घटनाको गंभीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिईयोस र यस्ता घटनाहरु पुनः दोहोरिन नदिन पुलिस र प्रशासनलाई अझ जिम्मेवार र संवेदनशील बनाई गंभिरता पूर्वक कदम चालियोस् साथै समाजलाई सभ्य, सुसस्कृत, नैतिकवान र समुन्नत बनाउन सामाजिक जागरण अभियानहरु संचालन गरियोस भनी अन्तर पार्टी महिला सञ्जाल सबै संग जोडदार माग गर्दछ ।

कल्याणी रिजाल नीलम वर्मा
महासचिव अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित सामाग्री