शुक्रबार, १६ चैत २०८०

खोला थुनिदा बस्तीमा बाढी, छ घर बगायो

समयपोष्ट २०७५ भदौ ३० गते ५:५६

गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।

Advertisement

केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो ।” शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उहाँले खोला नागचेततिर फकिर्दा बस्तीमा क्षति पुगेको बताउनुभयोे । “तीन दिनदेखि लगातार पानी परेको थियो, साँझ गडगड आवाज आयो, के हो भनेर हेर्दा खोला पो रहेछ”, स्थानीय बहादुर गुरुङले भन्नुभयो ।

पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय गोरखाले घट्टेखोलालाई पहिरोले छेकेर बस्तीमा खोला पसेको जनाएको छ । बस्तीमा खोला पसेपछि पाँच घरमा क्षति पुगेको जानकारी आएको भन्दै अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको र घटनास्थलतर्फ प्रहरी पठाइ सकिएको नेपालको भनाइ छ । एक्कासी बाढी बस्तीमा पसेपछि घरभित्रका लत्ताकपडा, खाद्यान्यलगायत कुनै पनि सामान बाहिर निकाल्न नपाएको पीडितले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री