बुधबार, १२ वैशाख २०८१

राष्ट्रिय प्रत्यारोपण केन्द्रले सञ्चालनमा ल्यायो अत्याधुनिक सिटी स्क्यान सेवा

समयपोष्ट २०७५ भदौ २८ गते १३:०२

भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अत्याधुनिक २५६ स्लाइस सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बुधबार सो सिटी स्क्यान सेवाको उद्घाटन गरे ।

Advertisement

प्रत्यारोपण केन्द्रले सो सेवा सर्वसाधारणको लागि खुला गरेको छ । केन्द्रमार्फत उपलब्ध हुने सिटी स्क्यान सेवा अन्य अस्पतालको तुलनामा सस्तो हुने जनाइएको छ ।

मन्त्री यादवले सरकारको नीति अनुसार केन्द्रले प्रत्यारोपण सेवासँगै उपचारका अन्य अत्याधुनिक प्रविधि भित्र्याइ रहेकोमा खुशी व्यक्त गर्दै भने ‘ अब यस्ता सेवा ग्रामीण भेगसम्म पनि पुग्नुपर्छ । सेवा पाउनु पर्ने ८० प्रतिशत नागरिक गाउँमा बस्छन् । तर, ८० प्रतिशत चिकित्सक शहरमा छन् ।’

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा डायलाइसिस र प्रत्यारोपणका लागि आउने बिरामीका लागि शय्या अभावका कारण सेवा बिस्तार गर्न नसकेको बताए ।

केन्द्रले एक सय शय्यामार्फत मिर्गौला प्रत्यारोपण, डायलाइसिस, कलेजो प्रत्यारोपण, मुटुरोग उपचारलगायत विभिन्न शल्यक्रियासहित ओपिडी सेवा सञ्चालन गरिरहेको छ । डा. श्रेष्ठले बिरामीको चाप अनुसार कम्तीमा दुई सय शय्याको अस्पताल हुन आवश्यक रहेको बताए । बिरामीको चापलाई मध्यनजर गरेर सरकारले सेवा विस्तारका लागि जग्गा उपलब्ध गराउन पर्ने डा. श्रेष्ठको भनाइ छ ।

केन्द्रको स्थापनाको पाँच वर्षको छोटो समयमा ५ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने नेपालमा पहिलो पटक कलेजो ३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

कार्यक्रममा अस्पतालको विकासको लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, युरोलोजिष्ट डा. राकेश बर्मा र पूर्व मेट्रोन इन्दिरा प्रधानलाई सम्मान गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री