बिहीबार, १३ वैशाख २०८१

चार दिनसम्म बन्धक बनाई बलात्कार,घटना यसरी भयो

समयपोष्ट २०७५ भदौ २५ गते ७:२८

प्रहरीले काठमाडौँको किर्तिपुरबाट एक बालिकाको उद्धार गरेको छ । बालिकालाई बन्धक बनाई बलात्कार गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । साथै घटनामा संलग्न एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

कैलालीको घोडाघोडी घर भई हाल काठमाडौँ किर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेमबहादुर खत्रीले आफ्नो डेरामा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले आइतबार साँझ ती बालिकाको उद्धार गरेको हो । प्रहरी वृत्त किर्तिपुरका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काको नेतृत्वमा गएको टोलीले बालिकाको उद्धार गर्दै खत्रीलाई नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोक घर भएकी ती १४ वर्षीया बालिकासहित सोही जिल्लाकै अर्की १३ वर्षीया बालिकालाई समेत खत्रीले चार दिनसम्म बन्धक बनाई बलात्कार गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललिपुरको इमाडोल डेरा गरी बस्ने ती दुई बालिका यही भदौ २१ गते साँझ बानेश्वर जाने गाडीमा चढेका थिए । सोही गाडीमा रहेका खत्रीले दुवै बालिकालाई ललाई–फकाई आफ्नो डेरामा लगेर बन्धक बनाएको प्रहरीले जानकारी दिएको छ ।

एक बालिकालाई २४ गते बिहान बल्खु ल्याएर छाडेपछि उनले प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि प्रहरी वृत्त किर्तिपुरबाट गएको टोलीले खत्रीलाई डेराबाटै नियन्त्रणमा लिँदै अर्की बालिकाको उद्धार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री