शुक्रबार, ७ वैशाख २०८१

चाबहिल-साँखु सडकखण्ड : अझै दुई वर्ष सडक निर्माण रोकिने

समयपोष्ट २०७५ भदौ २२ गते ८:२०

आदित्य दाहाल
बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ । चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनु परेको छ ।

Advertisement

चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् । पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् । तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ । “धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ,” नारायणटारका देवनारायण चौलागाईँले पीडा सुनाउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप यही सडकखण्डमा पर्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकका कारण सास्ती खेप्दै आएका छन् । पर्यटक घण्टौँ जाममा पर्दा दिक्क मान्छन् । खाल्डाखुल्डीले विद्यार्थी सबैभन्दा बढी प्रभावित छन् । ठूलो पानी पर्दा सडक खोलामा परिणत हुन्छ ।

सो सडकखण्डमा दिनहुँ यात्रा गर्दै आउनुभएका जयराम खतिवडा भन्नुहुन्छ, “मान्छे, मोटरसाइकल र स्कुटर हिलोमा नपछारिएको दिनै हँुदैन ।” मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई बढी समस्या छ । “घरबाट आउँदा लगाएको जुत्ता र कपडाको अवस्था फर्किदा हेरिनसक्नु हुन्छ,” जोरपाटीका उदय श्रेष्ठले भन्नुभयो । सडक मर्मतसम्भार गर्न उहाँले आग्रह गर्नुभयो ।

विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्मको सडक चार लेनको बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । पाँच कम्पनीले एघार किलोमिटर लामो सो सडकखण्ड विस्तार गरिरहेका छन् । आव २०७४÷७५ भित्र सो काम सक्नुपर्ने छ ।

कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युत् र टेलिफोनको पोल तथा तार, खानेपानी तथा ढलका कारण काम समयमै गर्न नसकेको जनाउँदै आएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठका अनुसार सडक निर्माणको ठेक्का पाएको युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले १५ प्रतिशत, बज्रगुरु÷च्याङमिला÷खानी जेभीले ४०, बज्रगुरु÷विरुवा÷खानी जेभीले ४०, बिटी÷सुनकोशी÷वल्डवाइड जेभीले ३५ तथा लामा÷समानान्तर जेभीले २५ प्रतिशत काम सम्पन्न गरेको छ ।

सर्वाेच्च अदालतले सडकमा जग्गा परेका परिवारलाई मुअब्जा दिन हालै आदेश दिएको थियो । मुआब्जाको प्रक्रियामा जाँदा अझै दुई वर्षसम्म सडक निर्माण रोकिने श्रेष्ठ बताउनुहुन्छ । बजेट विनियोजन, जग्गाको सर्वे, मुआब्जा दाबी तथा वितरण गर्न समय लाग्ने देखिन्छ ।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले स्थानीयवासीको अवरोधले सडक स्तरोन्नतिको काम हुन नसकेको बताउनुभयो । “सरकारले मुआब्जाका लागि रकम छुट्याएको छैन, सडक निर्माणमा अझै ढिलाइ हुन्छ ।” मुआब्जा वितरण र सडक निर्माण सँगसँगै गर्नुपर्ने छ । बिजुलीको पोल हटाउने तथा तार व्यवस्थापनको काम बाँकी नै छ । बौद्ध–जोरपाटी सडकखण्ड निर्माणका लागि एक वर्ष समय थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री