शुक्रबार, १६ चैत २०८०

सडक मानवको सहारा सेवाआश्रम

समयपोष्ट २०७५ भदौ २१ गते ७:१२

– समुन्द्रा घिमिरे

Advertisement

सहारा गुमाएर सडकमा पुगेका ३३ जना सडक मानवलाई मानव सेवा आश्रम लमजुङ शाखाले उद्धार गरेको छ । बेंशीशहरको हाई स्कूल चोकमा रहेको कार्यालयबाट उद्धार गरेकामध्ये आठ जनालाई पारिवारिक पुनः मिलन गराई सकिएको आश्रमकी लमजुङ संयोजक अनिता अधिकारीले जानकारी दिनुभयो ।

छैटौँ शाखाका रुपमा २०७३ साल चैत १२ गतेबाट लमजुङमा शाखा विस्तार गरेको आश्रमले हालसम्म यी सडक मानवको उद्धार गरेको हो । बेंशीशहरमै सडक पेटीमा मागेर जीवन निर्वाह गर्दै आएका ४० वर्षीय मिथुन मानवको उद्धार गरी विधिवत्रुपमा सडक मानवको उद्धार थालिएको थियो । शाखा विस्तार हुनुअगाडि सडक मानव भोकै नमरून् भन्ने मानसिकताका साथ सडकमै खाना र न्यायो कपडा वितरण गरिएको थियो ।

सडकमा अलपत्र परेका अशक्त, मनोरोगी व्यक्ति विभिन्न समस्याले ग्रस्त नौजनाले आश्रममा सेवा लिइरहेका छन् । उद्धारपछि चारजनाको मृत्यु भइसकेको छ । आश्रममा आइसकेपछि स्वेच्छिकरुपमा सातजनाले आश्रम छोडेका आश्रमका अभियन्ता प्रकाश दवाडीले बताउनुभयो । “यहाँ राख्न नसकिने अवस्थाका केहीलाई हेटौँडा आश्रममा पठाएका छौँ । कडा मनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण छ”, उहाँले भन्नुभयो । सडकमा बेवारिसे बनेका एकजना भारतीय नागरिकलाई समेत आश्रमले उद्धार गरेको थियो ।

आश्रमले शारीरिक र मानसिक दुबैरुपमा अशक्त व्यक्तिलाई सडकबाट उद्धार गरी आश्रममा ल्याउने गरेको छ । आश्रमले साहराविहीन बनेका व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक मिलन गराउने गरेको मानव सेवाआश्रमको सञ्चालन संस्था साँचो जीवन निर्माण अभियानका जिल्ला संयोजक किसान सङ्गीत नेपालीले बताउनुभयो । उहाँका अनुसार मानसिक सन्तुलन गुमाएका व्यक्ति पनि आश्रमको हेरचाह र उपचारले निको हुने गरेको छ । “धेरै मानव माया, प्रेम र स्नेहको भोका हुन्छन् । पारिवारले जति दिनुपर्ने माया र स्नेह नपाएपछि ती मानव सडकमा आउन बाध्य हुन्छन्”, उहाँले भन्नुभयो ।

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले साहराविहीन बनेका व्यक्तिलाई आश्रम सारथी बनेको स्थानीयवासी बताउँछन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रमले दिइरहेको सेवाप्रति स्थानीयवासीले प्रशंसा गरेका छन् । मानव सेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । विसं २०६९ मा मकवानपुरको हेटौँडामा पहिलोपटक स्थापना भएको आश्रमले देशभर एक हजार ५०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको उहाले बताउनुभयो ।

नागरिक लाभान्वित

नेपाल सरकारले बनाएको विपन्न नागरिक औषधि उपचार कोषबाट लमजुङका १६३ नागरिकले सहयोग पाएका छन् । आव २०७४÷७५ मा सबैभन्दा बढी क्यान्सरबाट पीडित ७४ जनाले आर्थिक सहयोग लिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मुटुसम्बन्धी रोगबाट पीडित ५१, मिर्गौलासम्बन्धी समस्या भएका ३१, स्पाइनल इञ्जुरीका ६ र हेड इञ्जुरीका एकजनाले कोषबाट लाभ लिएको जनस्वास्थ्य अधिकृत केशव चापागाईंले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री