दूधकोशी २ जलविद्युत आयोजनालाई जुट्यो वित्तीय स्रोत, लक्ष्मी सनराइज बैंकको नेतृत्वमा १०.५ अर्ब जुटाइने

सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा निर्माणाधीन ७० मेगावाट क्षमताको पिकिङ रन-अफ-द-रिभर दूधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनालाई वित्तीय सहयोग प्रदान गर्न लक्ष्मी सनराइजको नेतृत्वमा बैंक समूह र दूधकोशी हाइड्रोपावर नेपाल प्रा.लि. बीच सुविधा सम्झौता सम्पन्न भएको छ। यो आयोजनाको अनुमानित लागत १५ अर्ब नेपाली रूपैयाँ रहेको छ र यो नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दूधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट २०२० सेप्टेम्बर २३ मा उत्पादन अनुमति प्राप्त गरेको थियो। त्यसैगरी, २०२१ नोभेम्बर २२ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) सम्पन्न भएको थियो। यो आयोजना आयु मालुन हाइड्रोपावर लि., कदम केसी, किरण मल्ल, अभिग्या मल्ल, बिक्रम गौतम, बिकाश गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई र विभिन्न निजी इक्विटी भेन्चर क्यापिटलहरूको प्रवर्द्धनमा निर्माण भइरहेको छ।
बैंक समूहले आयोजनाको कुल लागतको करिब ७०% अर्थात् १०.५ अर्ब नेपाली रूपैयाँ बराबरको टर्म लोन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बाँकी ३०% रकम आयोजना प्रवर्द्धकहरू र सर्वसाधारणबाट जुटाइनेछ। यो वित्तीय सम्झौतामा लक्ष्मी सनराइज बैंकले नेतृत्व गरेको छ भने एभरेस्ट बैंक सह-नेता र सानिमा बैंक सदस्यको रूपमा सहभागी छन्।
यो आयोजनाले वार्षिक करिब ४१७ गिगावाट-घण्टा (GWh) विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गर्ने अपेक्षा गरिएको छ। सन् २०२९ को जुलाईसम्ममा सञ्चालनमा आउने यो आयोजना नेपालको ठूला स्वतन्त्र विद्युत उत्पादक (IPP) मध्ये एक हुनेछ।




























प्रतिक्रिया