आइतबार, २ कार्तिक २०८२

डा. मिश्राको विवादित नियुक्तिमा बालुवाटार-शीतलनिवासबीच अन्योल, शपथ ‘होल्ड’

समयपोष्ट २०८२ असोज ६ गते १०:४१

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेसँगै राजनीतिक तथा प्रशासनिक हलचल मच्चिएको छ । आइतबार नै राजीनामा दिएर मन्त्री बन्न तयारी गर्दै गरेकी डा. मिश्राको नियुक्ति राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरे पनि, उनको विवादित पृष्ठभूमि खुलेपछि बालुवाटारबाट ‘केही नगर्नु’ भन्ने निर्देशन आउन थालेको छ । यसले शीतलनिवासमा अन्योल सिर्जना भएको छ ।

प्रधानमन्त्री कार्कीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत डा. मिश्रा सहित पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । जसअनुसार डा. मिश्रा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने निश्चित थियो । अन्य मन्त्रालयहरूमा जगदीश खरेल (सञ्चार, सूचना तथा प्रविधि), मदन परियार (कृषि तथा पशुपन्छी विकास), पूर्वन्यायाधीश अनिलकुमार झा (कानुन, न्याय तथा संसदीय मामिला) र एक अन्य व्यक्तिको नाम सिफारिस भएको थियो । राष्ट्रपति पौडेलले सोहीअनुसार नियुक्ति चाँडै गर्ने तयारीमा थिए । तर, मन्त्रीहरूको शपथ कार्यक्रम सोमबार दिउँसो २ बजेका लागि तोकिएको थियो ।

डा. मिश्रा स्वास्थ्य सेवामा लामो समयदेखि संलग्न प्रसिद्ध स्त्रीरोग तथा प्रजनन स्वास्थ्य विशेषज्ञ हुन् । २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष काम गरेपछि फुलब्राइट छात्रवृत्तिमा अमेरिका अध्ययनका लागि गएकी थिइन् । फर्किएपछि कोशी अस्पतालको नेतृत्व गर्दा कोभिड-१९ महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि सफल नेतृत्व दिएकी थिइन् र नेपालमा पहिलो ह्युमन मिल्क बैंक (अमृत कोष) स्थापना गर्ने अवधारणा ल्याएकी थिइन् । हाल ३ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको भूमिकामा रहेकी थिइन् ।

तर, गत वर्ष फागुनमा डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्दा डा. मिश्रालाई वरिष्ठता मिचेर पदोन्नति नदिइएको थियो । यसको कारण उनको नागरिकता विवादित रहेको तत्कालीन सरकारका अधिकारीहरूले बताएका थिए । यसबाहेक, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा अनियमितता भएको आरोपमा पनि उनीमाथि प्रश्न उठेको छ । यी विवादहरूले मन्त्री नियुक्तिको सिफारिसलाई आकस्मिक रूपमा प्रभावित पारेको छ ।

Advertisement

प्रधानमन्त्री निकट स्रोतका अनुसार, डा. मिश्राको नियुक्तिमा उठेका प्रश्नहरूले मन्त्रिपरिषद् विस्तारको पहिलो चरणलाई नै झन्झटिलो बनाएको छ । यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरिएको थियो । तर, रक्षा तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने मनस्थिति बनाएकी छन् ।

मन्त्री बन्ने निश्चित भएपछि डा. मिश्राले आइतबार बिहान नै स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव पदबाट राजीनामा बुझाएकी थिइन् । तर, विवादका कारण यो राजीनामा कति प्रभावकारी हुने भन्नेमा प्रश्न उठेको छ । स्वास्थ्य मन्त्रालय स्रोतले भने, ‘डा. मिश्रा कुशल व्यवस्थापक हुन् । कोभिड समयमा २८ संक्रमितको सहज उपचार सम्भव भएको उनकै योगदान थियो । तर, खरिद प्रकरणको अनियमितताको छानबिन नसकिँदै मन्त्री बन्नु उपयुक्त नहुन सक्छ भन्ने मत छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री