आइतबार, २ कार्तिक २०८२

नेक्सजेन म्यानेजमेन्टले पारित गर्‍यो आईपीओ प्रस्ताव, चुक्ता पुँजी ५० करोड पुर्‍याउने लक्ष्य

समयपोष्ट २०८२ असोज ५ गते १४:३१

Advertisement

नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन लिमिटेडको आठौँ वार्षिक साधारणसभाले कम्पनीलाई सार्वजनिक निष्कासन (आईपीओ) मा लैजाने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्‍याउने लक्ष्यसहित प्रिमियममा संस्थापक सेयर निष्कासन र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने निर्णय भएको छ।

होटल एलो पगोडामा आयोजित सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्तिको प्रस्ताव पनि अनुमोदन गरेको छ। यसका साथै, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा लगानी गर्ने प्रस्तावलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ।

सभाको सुरुवातमा प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले उपस्थित सेयरधनीहरू र अतिथिहरूलाई स्वागत गर्दै कम्पनीको उद्देश्य परिवर्तन र सार्वजनिक सेयर निष्कासनको आवश्यकताबारे प्रष्ट पारे। अध्यक्ष शाहले कम्पनीको विगत, वर्तमान अवस्था र भविष्यका रणनीतिहरूबारे विस्तृत जानकारी प्रदान गरे। यस्तै, सञ्चालक अजयकुमार मिश्रले उद्योग व्यवसायमा लगानीका जोखिम र समयानुकूल लगानीका अवसरहरूबारे प्रकाश पारे।

साधारण सभामा संस्थापकहरूले कम्पनीको रणनीति र योजनाबारे विभिन्न प्रश्न र जिज्ञासा राखेका थिए। ती जिज्ञासाहरूको जवाफ अध्यक्ष शाह र प्रबन्ध सञ्चालक भट्टराईले दिएका थिए।

Advertisement

२०७५ सालमा स्थापना भएको नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन लिमिटेड विगत ६ वर्षदेखि निरन्तर खुद नाफामा सञ्चालित छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको खुद नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको छ। हाल कम्पनीको नेटवर्थ अङ्कित मूल्य १०० भन्दा माथि रहेको छ।

प्रबन्ध सञ्चालक भट्टराईका अनुसार, कम्पनीले नयाँ लगानीकर्ताहरूलाई समेट्दै आफ्नो व्यवसायको आकार र दायरा विस्तार गर्ने लक्ष्य राखेको छ। “हामीले सेयर निष्कासनमार्फत नयाँ अवसरहरू सिर्जना गर्नेछौँ र कम्पनीको वृद्धिलाई तीव्र बनाउनेछौँ,” उनले भने।

नेक्सजेन म्यानेजमेन्टले आगामी दिनमा आफ्नो बजार स्थिति थप सुदृढ गर्दै लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री