आइतबार, २ कार्तिक २०८२

नेप्सेमा सूचीकृत यी ११ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

समयपोष्ट २०८२ असोज ४ गते ८:५२

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन्। असोज ३, २०८२ सम्म विभिन्न क्षेत्रका यी कम्पनीले न्यूनतम ६% देखि अधिकतम २१.०५३% सम्म लाभांश घोषणा गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारका गतिविधि करिब एक हप्ता पछाडि धकेलिएको छ। यस वर्ष अधिकांश कम्पनीले बोनस शेयरलाई प्राथमिकता दिएका छन्, तर केहीले नगद लाभांश पनि घोषणा गरेका छन्। जेनजी आन्दोलनका कारण साधारण सभाहरू स्थगित हुँदा लाभांश वितरण दशैंपछिको समयमा सरेको छ।

हालसम्म दुई बैंक, चार हाइड्रोपावर, दुई इन्भेष्टमेन्ट कम्पनी, दुई विकास बैंक र एक उत्पादनमूलक कम्पनीले लाभांश घोषणा गरेका छन्।

हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ ३१ मा साधारण सभा सम्पन्न गरी १२% बोनस शेयर र कर प्रयोजनका लागि ०.६३% नगदसहित १२.६३% लाभांश पारित गरेको छ।

Advertisement

माछापुच्छ्रे बैंकले भदौ २७ मा बुक क्लोज गरिसकेको छ र असोज १० मा साधारण सभा गर्दैछ। यो बैंकले ४% नगद र ४% बोनससहित ८% लाभांश घोषणा गरेको छ, जसको नगद लाभांश फूलपातीअघि नै लगानीकर्ताको खातामा ट्रान्सफर हुन सक्छ।

कामना सेवा विकास बैंकले असोज ८ मा बुक क्लोज र असोज २४ मा साधारण सभा तोकेको छ, जसले ५.७९% नगद र १०% बोनससहित १५.७९% लाभांश प्रस्ताव गरेको छ।

युनिभर्सल पावर कम्पनीले असोज ८ मा बुक क्लोज र असोज २३ मा साधारण सभा तय गरेको छ, जसले ९% बोनस र ०.४७% नगदसहित ९.४७% लाभांश घोषणा गरेको छ।

नेपाल ल्यूब आयल लिमिटेडले असोज १२ मा बुक क्लोज र असोज ३१ मा साधारण सभा गर्ने मिति तय गरेको छ। यो कम्पनीले सबैभन्दा बढी १.०५३% नगद र २०% बोनससहित २१.०५३% लाभांश घोषणा गरेको छ। यसको १:२ अनुपातको हकप्रद निष्काशनको आवेदन सेबोनमा विचाराधीन छ। अन्य कम्पनीले साधारण सभा र बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्।

बैंकहरूमा एभरेष्ट बैंकले १४% नगद र ६% बोनससहित २०% लाभांश प्रस्ताव गरेको छ, जुन बैंकहरूमा सबैभन्दा उच्च हो। माछापुच्छ्रे बैंकको लाभांश ८% छ। विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंकले ४.६७% नगद र १३.५३% बोनससहित १८.२% लाभांश र कामना सेवा विकास बैंकले १५.७९% लाभांश घोषणा गरेका छन्।

हाइड्रोपावर कम्पनीहरूले मुख्य रूपमा बोनस शेयरमा जोड दिएका छन्। सिक्लेस र मिडसोलु हाइड्रोपावरले १५% बोनस र ०.७८९% नगदसहित १५.७८९% लाभांश, अरुण भ्याली हाइड्रोपावरले ८% बोनस र ०.४२% नगदसहित ८.४२१% लाभांश, र युनिभर्सल पावरले ९% बोनस र ०.४७% नगदसहित ९.४७% लाभांश घोषणा गरेका छन्। लगानी समूहमा हाथवे इन्भेष्टमेन्टले १२.६३% लाभांश पारित गरेको छ। नेपालको एकमात्र पूर्वाधार विकास बैंकले ६% नगद लाभांश प्रस्ताव गरेको छ, जसले गत वर्ष लाभांश वितरण गरेको थिएन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री