बुधबार, २९ असोज २०८२

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न नाडाको आह्वान

समयपोष्ट २०८२ भदौ २९ गते २०:३०

Advertisement

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले देशभर भइरहेका आन्दोलन र प्रदर्शनहरूले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा गहिरो नकारात्मक प्रभाव पारेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

आइतबार जारी विज्ञप्तिमा नाडाले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थाले देशमा शान्ति र स्थिरता कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

नाडाले अटोमोबाइल क्षेत्रलाई देशको उद्योग, व्यापार र रोजगारीको मेरुदण्डका रूपमा उल्लेख गर्दै हालका अस्थिर घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर परेको जनाएको छ। आन्दोलनका कारण कर्मचारी, ग्राहक र भौतिक संरचनाको सुरक्षामा जोखिम बढेको नाडाको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, “देशको वर्तमान परिस्थितिले उपभोक्ताको विश्वासमा नकारात्मक असर परेको छ। यसले दीर्घकालीन रूपमा लगानी र रोजगारीका अवसरहरूमा समेत गम्भीर चुनौती थपेको छ।”

Advertisement

नाडाले हरेक जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट सम्भव रहेको विश्वास व्यक्त गरेको छ। संस्थाले सरकारलाई व्यवसायी समुदायको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न आह्वान गरेको छ।

नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित र उपभोक्ताको विश्वास जोगाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ। साथै, मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन सबै सरोकारवालाहरूलाई सकारात्मक संवाद र जिम्मेवार नेतृत्वका लागि आग्रह गरेको छ।

यसैगरी, नाडाले नयाँ सरकारलाई आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री