नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (FWEAN) बीच महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यावसायिक सम्झौता भएको छ। यो सम्झौताले महिलाहरूलाई उद्यम क्षेत्रमा आकर्षित गर्दै उनीहरूको व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ नेपालका तर्फबाट अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ। यो सम्झौतामार्फत महासंघका सम्पूर्ण सदस्यहरू, महिलाद्वारा सञ्चालित उद्यमहरू, र नयाँ उद्यमी बन्न चाहने महिलाहरूलाई विशेष बैंकिङ तथा वित्तीय सहयोग प्रदान गरिनेछ।
यस योजनाअन्तर्गत बैंकले आफ्ना देशभरका २७५ शाखाहरूमार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी महिलाहरूलाई छुटसहितको कर्जा सुविधा, वित्तीय साक्षरता कार्यक्रम, र अन्य बैंकिङ सेवाहरूमा विशेष प्राथमिकता दिनेछ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले यो सम्झौताले महिला उद्यमीहरूलाई प्रत्यक्ष लाभ पुग्ने र उनीहरूको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यो सहकार्यले महिला उद्यमशीलताको प्रवद्र्धनका साथै आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 




























 
	
प्रतिक्रिया