भारत सरकारको सहयोगमा बाह्र वटा परियोजना निर्माण हुने
भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने १२ वटा परियोजनाहरूको समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
भारत सरकारको कूल अनुमानित लागत नेरु. ४७.४ करोड अनुदान सहायता अन्तर्गत ओखलढुङ्गाको सिद्घिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको विद्यालय भवन, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित श्री स्वर्णन्तरल आधारभूत विद्यालयको विद्यालय भवन, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन,दैलेखको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको विद्यालय भवन, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवन, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण रहेका छन् ।
यस्तै चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवन, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजना,सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवद्र्घन केन्द्रको लागि भवन, धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्र, दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको निर्माण रहेका छन् ।
यी परियोजनाहरु नेपाल सरकारका स्थानीय निकायहरु जस्तैं महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमार्फत कार्यान्वयन गरिनेछन् ।
यी परियोजनाहरुको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरु उपलब्ध गराउन मद्दत गर्ने विश्वास लिइएको छ ।
सन् २००३ यता भारतले नेपालमा आज समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनाहरुसहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ र भुँइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ्ग, खानेपानी, विद्युतीकरण, सिंचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । बाँकी अन्य परियोजनाहरु विभिन्न चरणमा संचालित छन् ।
प्रतिक्रिया