शनिबार, ३ साउन २०८२

पाँच पटक म्याद थप हुँदा पनि बनेन दैजी जोगबुढा सडक

समयपोष्ट २०८१ भदौ १७ गते १९:३८

महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक पाँच पटक म्याद थप हुँदासमेत निर्माण सम्पन्न भएको छैन ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्षबितिसक्दा पनि नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ । सडक निमार्णका लागि पाचौँ पटक विसं २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्रिमधेशका स्थानीय धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । “डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दुरीको सडक नबन्दा हामीले घुमाउरो बाटो आवतजावत गर्नुपर्ने बाध्यता छ”, स्थानीय रामबहादुर बुढामगरले भन्नुभयो । उहाँले सडक नहुँदा जोगबुढा र परशुराम क्षेत्रको कृषि उपज बिक्रीका लागि समस्या हुने गरेको बताउनुभयो ।

“सडक भइदिएको भए यहाँ उत्पादित दाल तरकारी महेन्द्रनगर बिक्री गर्न लैजान सजिलो हुने थियो”, उहाँले भन्नुभयो । सडक निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा चुरे पहाडमा सडक किनारामा निमार्ण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय महेश भट्टले बताउनुभयो । “बनेका पर्खाल र नालीसमेत जीर्ण भएका छन्”, भट्टले भन्नुभयो, “वर्षातमा हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।” डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको वैकल्पिक मार्ग समेत हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निमार्णमा ढिलाइ भएको जनाएको छ । सूचना अधिकारी आनसिंह डाँगाका अनुसार सडक निर्माण सम्पन्न नहुँदा हरेक वर्ष वर्षातमा बाढीले क्षति गर्ने गरेको छ । हालसम्म निमार्ण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री