शुक्रबार, ७ वैशाख २०८१

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, दुई सय मेगावाट विद्युत् प्रवाह हुने

समयपोष्ट २०७९ असोज १३ गते १६:४६

Advertisement

खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गज्र्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।

रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट (केभी) डबल सर्किट क्षमताको हो । रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेशनमा टुङ्गिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि एक सय पाँचवटा टावर निर्माण गरिएका छन् ।

आयोजनाअन्तर्गत गज्र्याङमा एक सय ३२ केभीको नयाँ सबस्टेशन र नयाँ खिम्ती सबस्टेशनमा एक सय ३२ केभीको वे निर्माण गरिएको छ । गज्र्याङ सबस्टेशनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी ६÷८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मर जडान गरिएको छ । गज्र्याङ सबस्टेशनबाटै स्थानीयरूपमा विद्युत् दिइने भएकाले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न भएपछि करिब दुई सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

“स्थानीयको अवरोधलगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज)मा ल्याउन परीक्षणका कामहरू भइरहेका छन्”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

हाल कुल १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ । अब ती आयोजनाको विद्युत गज्र्याङ– खिम्ती प्रसारण लाइनमा जोडिन्छ । प्रसारण पूर्वाधारको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

स्थानीयको अवरोधका कारण गज्र्याङ–खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि गत वैशाख १५ गतेदेखि वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् गज्र्याङ सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेशनमा जोडिएको छ । जिरी सबस्टेशनबाट चरिकोटस्थित मकैबारी सबस्टेशन हुँदै सिङ्गटी सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

गज्र्याङ–खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।

स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापन लगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतले जानकारी दिनुभयो ।

आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७ ÷६८ देखि सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग माघ २०७३ मा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाका प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धक सम्बद्ध फ्रेण्डसीप इञ्जीनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो । कोभिड–१९को महामारी, समयमा निर्माण उपकरण आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।

अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेशनमा दुई सय २०÷एक सय ३२÷३३, दुई सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ ।

नयाँ खिम्ती सबस्टेशनको क्षमता अपुग हुने भएकाले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी सबस्टेशनमा अहिले एक सय एमभिएको पावर ट्रान्सफर्मर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री