शनिबार, १ कार्तिक २०८२

मिरजको घोषणा: ‘मुख्य माग पूरा नभएसम्म निर्वाचनमा भाग लिँदैनौं’

समयपोष्ट २०८२ कार्तिक १ गते १४:१७

Advertisement

जेनजी युवा मिरज ढुंगानाले आफूहरूले राजनीतिक दल खोल्ने उद्देश्य निर्वाचनमा भाग लिनु मात्र नभएको स्पष्ट पारेका छन्।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको मुख्य माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने अडान दोहोर्‍याए।

ढुंगानाले विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित हुनुपर्ने मागलाई आफूहरूको ‘बटमलाइन’ भएको बताए। ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु हो भन्ने कदापि होइन। यो कुरा प्रष्ट होस्,’ उनले भने।

उनले देश विकासका लागि हुलमुल मात्र पर्याप्त नहुने भन्दै आधिकारिक रूपमा अघि बढ्न एनजीओ वा राजनीतिक दलको ढाँचा आवश्यक रहेको जिकिर गरे। ‘हुलमुलले मात्र देश बन्दैन। आधिकारिक हुन एनजीओ वा राजनीतिक दल चाहिन्छ। नत्र त केवल भीड हुन्छ, भीडले देश विकास हुँदैन,’ उनले थपे।

ढुंगानाले सबै समूहलाई एकजुट भएर संगठित रूपमा अघि बढ्न आह्वान गरे। ‘हाम्रो छाता ठूलो छ। यो खालको क्रान्ति धेरै समयपछि आएको छ। सबैलाई म आउनुस् भन्छु,’ उनले भने।

Advertisement

उनले आफूहरूको मुख्य मागमा अडिग रहेको र ती पूरा नभएसम्म निर्वाचनमा भाग नलिने प्रष्ट पारे। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य मुद्दा हो। यो सुनिश्चित हुनैपर्छ। साथै, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिइनुपर्छ,’ उनले भने। ‘३ करोड जनसंख्यामध्ये ८० लाखलाई बेवास्ता गरेर कसरी निर्वाचन हुन्छ? उनीहरूको रगत-पसिनालाई सम्मान गर्नुपर्छ। यी माग पूरा नभएसम्म हामी निर्वाचनमा जाँदैनौं।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री