‘तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक छ’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको छलफलमा मन्त्री राईले काम नगर्ने निर्माण कम्पनी अदालत जाँदा अन्तरिम आदेश दिने र लामो समय काम ठप्प हुने अवस्था रहेको बताउनुभयो । विभागले गर्ने ठेक्कामा ललितपुर उच्च अदालतले र अरु तहको पनि क्षेत्राधिकार तोकिएको भए पनि त्यसअनुसार नभएको उहाँले बताउनुभयो । विभागले गरेका ठेक्कामा जिल्ला र उच्च अदालत दुवैतिर मुद्दा दर्ता हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै मुद्दा एकभन्दा बढी अदालतमा जाँदा कतै न कतै आदेश आउने गर्दा पनि काम रोकिएको छ ।”
आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म ८० भन्दा बढी सडकका ठेक्का रुग्ण भएकामा अहिले त्यो ३०÷३१ मा झरेको मन्त्री राईले बताउनुभयो । ठेक्का लिने समयमा काम नगरेर विभाग वा सम्बन्धित योजनाले कालोसूचीमा राखे पनि अदालतमा मुद्दा परेपछि कुनै न कुनै अदालतले अन्तरिम आदेश दिएर रोक्ने गरेको छ । पाँच वर्ष उसले त्यो रकम चलाउन पाउने हुँदा पनि त्यही कुरा दोहोरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो रोक्नका लागि पनि कानुनको पुनःलेखन जरुरी छ ।”
जताबाट इञ्जिनीयरिङ विषय पास गरेपनि सोझै प्रमाणपत्र पाएकाले त्यो नियन्त्रणका लागि इञ्जिनीयरिङ काउन्सिलसम्बन्धी ऐनमा परीक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार योग्यता र क्षमताका आधारमा परीक्षा लिएर मात्रै इञ्जिनीयर लेख्न र सेवा दिन पाउने व्यवस्था व्यवस्था गरिएको छ ।
काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थापनमा तीन तहले एउटाले अर्काेको जिम्मेवारी देखाएर पन्छन् खाजेकाले काठमाडौँ उपत्यका यातायात व्यवस्थापन ऐन ल्याइएको मन्त्री राईले बताउनुभयो । उपत्यकामा सङ्घबाट व्यवस्थापन हुने गरी भौतिक मन्त्रालयका सचिव, मन्त्रालयको यातायात महाशाखा प्रमुख र यातायात व्यवस्था विभागका महानिर्देशक पदेन सदस्य हुनेगरी प्राधिकरणको व्यवस्था गरिएको छ ।
प्राधिकरणमा काठमाडौँ महानगरपालिका प्रमुख अध्यक्ष र ललितपुरका उपाध्यक्ष र बाँकी नगरपालिकाका प्रमुख वा उपप्रमुख सदस्य हुने व्यवस्था र एक जना प्रशासक सङ्घले नियुक्त गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयले साना सडकमा ध्यान दिनुपर्दा ठूला आयोजनामा कम ध्यान जाने बताउनुभयो । मन्त्रालयको कार्यक्षेत्रमा सङ्घीय सडक योजना मात्रै भए पनि थोरै बजेटका सडक योजना हेर्न परिरहेको उहाँको भनाइ छ । पछिल्लो महिनामा तीन महत्वपूर्ण ऐन पारित भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया