शुक्रबार, १६ चैत २०८०

दुई शिक्षकका भरमा आठ वटा कक्षा

समयपोष्ट २०७९ असोज ६ गते २२:४०

Advertisement

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ५ सम्मको पठनपाठन हुन्छ । विसं २०१६ मै स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । विद्यालय तथ्याङ्कअनुसार हाल यहाँ दुई सय २५ विद्यार्थी अध्ययनरत छन् । पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा शिक्षक भने दुई जना छन् ।

“दुई जना शिक्षकले पाँच वटा कक्षाको पठनपाठन कहाँ सम्भव हुन्छ र ?”, विद्यालयका प्रधानाध्यापक प्रविण कर्ण भन्नुहुन्छ, “पठनपाठनको औपचारिकता मात्रै निर्वाह गरिरहेको छु ।” विद्यालयको पठनपाठन सँगसँगै प्रधानाध्यापकका रुपमा अन्य जिम्मेवारीसमेत बहन गर्नैपर्ने बाध्यता उत्तिकै रहेको उहाँको भनाइ छ । केही महिनाअघिसम्म विद्यालयमा चार जना शिक्षक थिए । दुई जना लगातार अवकाश पाएर गए । अब सम्पूर्ण विद्यालयको जिम्मेवारी प्रधानाध्यापक कर्ण र अर्का शिक्षक अमनकुमार मिश्र माथि छ ।

शिक्षकको अभावमा एउटै कोठामा दुई÷दुई वटा कक्षालाई राखेर पढाउँदा पनि एउटा कक्षामा शिक्षक अपुग नै हुन्छ । प्रायःजसो कार्यालय सहयोगीलाई समेत खटाउनुपर्ने बाध्यता रहने गरेको प्रधानाध्यापक कर्ण बताउनुहुन्छ । वडा नं १ मै रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालय बेल्ही मल्हनियाँमा हाल तीन सय ९२ बालबालिका अध्ययनरत रहेको विद्यालय तथ्याङ्कले देखाउँछ । कक्षा ६ सम्मको पठनपाठन हुने यस विद्यालयमा शिक्षक भने तीन जना मात्रै छन् । शिक्षकको अभावमा एउटै कोठामा तीन÷तीन वटा कक्षा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक राम साह बताउनुहुन्छ ।

तिलाठी कोइलाडी गाउँपालिकाकै वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था झन् बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३ सय ६१ बालबालिका अध्ययनरत छन् । शिक्षक भने दुई जना मात्रै छन् । दुई शिक्षकमध्ये प्रधानाध्यापकलाई अधिकांश समय अफिसको काम तथा बैठक गोष्ठीमै जानुपर्ने बाध्यता हुन्छ । चालु शैक्षिकसत्रको चौथो महिना चलिरहँदासमेत यहाँका विद्यार्थीले पाठ्यक्रमअनुरुप सबै विषय पढ्न पाएका छैनन् । शिक्षकको अभावमा एउटै कोठामा विद्यार्थीलाई राखेर पठनपाठनको औपचारिकता निर्वाह गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक देवनारायण पण्डित बताउनुहुन्छ ।

विसं २०३६ मै स्थापित यस विद्यालयले पछिल्लो लामो समयदेखि यसरी नै शिक्षकको अभाव झेल्दै आएको छ । दुई वर्षअघिसम्म यहाँ चार जना शिक्षक कार्यरत थिए । दुई जना शिक्षकले अवकाश पाएको पनि दुई वर्ष भयो तर रिक्त रहेका ती पद अझै पूर्ति गर्न सकिएको छैन ।

सोही वडामा रहेको कृष्णकुमारी देवी आधारभूत विद्यालयमा कक्षा ६ सम्मको पठनपाठनका लागि मात्र चार शिक्षक छन् । वडा नं ५ कै राष्ट्रिय प्राथमिक विद्यालय कोबर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुसहा कोबर्साइनमा पाँच÷पाँच वटा कक्षा सञ्चालन भने दुई÷दुई जना शिक्षकका भरमा भइरहेको छ ।

साविको छ वटा गाविसलई समाहित गरेर बनाइएको तिलाठी कोइलाडी गाउँपालिकाको आठ वडामा १३ आधारभूत विद्यालय सञ्चालित रहेकामा १३ वटै विद्यालयमा शिक्षकको अभाव रहेको छ ।

दरबन्दीअनुसार त परै जाओस् कम्तीमा एउटा कक्षा बराबर एक शिक्षकको न्यूनतम आवश्यकता पनि पूरा गर्न सकिएको छैन । शिक्षक अभावबारे आफूहरु पछिल्लो लामो समयदेखि गाउँपालिकालाई ताकेता गरिराखेको भए पनि हालसम्म पालिकालगायतका सरोकारवाला निकायबाट ठोस पहल हुन नसकेको स्थानीय प्रधानाध्यापकको सामूहिक गुनासो छ ।

गाउँपालिका भएदेखि नै यहाँका विद्यालयमा शिक्षकको अभावै रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झा बताउनुहुन्छ । “सुरुदेखि नै शिक्षकको अभावै रहेको छ, पछिल्लो समय शिक्षकको अनिवार्य अवकाशपश्चात् झन् अवस्था जटिल भएको हो”, झाले भन्नुभयो, “हामी पहल गरिराखेका छौँ, स्वयंसेवक शिक्षक भर्ना गरेर भए पनि समस्या समाधानतर्फ हामी अघि बढ्ने योजनामा छौँ ।”

निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीले शिक्षा क्षेत्रलाई वास्तै नगरेका कारण यस्तो अवस्था आएको स्थानीय अभिभावक सुशील यादवको आरोप छ । “यस पालिकाअन्तर्गतका विद्यालय पछिल्लो तीन वर्षदेखि व्यवस्थापन समितिविहीन रहेको छ”, यादवले भन्नुभयो, “पुराना जनप्रतिनिधि त जे गर्नु थियो गरेर गए, आएका नयाँ जनप्रतिनिधिको रवैया पनि उस्तै देख्छु ।”

शिक्षा शाखा प्रमुख झाका अनुसार यसअघिका जनप्रतिनिधिको संलग्नतामा त्यतिबेलै बनाइएको कार्यविधिको विवादका कारण यहाँका विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकेको हो ।

कार्यविधिमा विद्यालय व्यवस्थापन समिति छनोट प्रक्रिया निकै विवादित रहेको थियो । कार्यविधिअनुसार विद्यालय व्यवस्थापन समितिका चार सदस्यमध्ये दुई वडाध्यक्षले र दुई गाउँपालिका अध्यक्षले मनोनीत गर्ने प्रावधान थियो । उक्त प्रावधानलाई कुनै पनि विद्यालयका अभिभावकले स्वीकार गर्न नमानेपछि विद्यालय व्यवस्थापन समिति छनोट कार्य पछिल्लो तीन वर्षदेखि ठप्प रहेको हो । विद्यालय व्यवस्थापन समिति नहुँदा बाहिरबाट शिक्षक सरुवा गरेर ल्याउन तथा नयाँ शिक्षक नियुक्त गर्नसमेत कठिनाइ भइरहेका कारण प्रायजसो विद्यालयमा शिक्षकको अभाव भएको हो । वर्षौंदेखिको समस्यालाई एकैछिनमा समाधान गर्न सकिने अवस्था नरहेको गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साह बताउनुहुन्छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको वेथितिकै आधारमा आफूहरुले जनतासँग मत मागेको साह भन्नुहुन्छ, “हाम्रो प्राथमिकता नै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्नुपर्ने हो, थोरै समय लाग्ला तर त्यसलाई सुधार गर्छौं ।”रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री