शुक्रबार, १४ वैशाख २०८१

कानूनमन्त्रीमार्फत ओलीले पठाए देउवालाई यस्तो सन्देश

समयपोष्ट २०७८ असोज १२ गते १४:०५

Advertisement

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शेरवहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक रहेको जसले सरकार र प्रतिपक्षको सम्बन्ध राम्रो नहुने सन्देश पठाएका छन् ।

प्रधानमन्त्री देउवाको दूतका रुपमा मंगलवार विहान अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका कानून मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीमार्फत ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको भन्दै यसले सम्बन्धमा असर गर्ने सन्देश पठाएका हुन् ।

प्रधानमन्त्री देउवालाई ओलीले पठाएका सन्देश ओलीको सचिवालयबाट रामशरण बजगाईले प्रेस नोटमार्फत सार्वजनिक गरेका छन् ।

‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन विल्कुलै असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको छ’, ओलीले कार्कीमार्फत देउवालाई पठाएको सन्देशमा भनिएको छ, ‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।’

अहिले संसद् अधिवेशन चालु रहेको अवस्थामा अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था रहेको ओलीको भनाइ छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएपनि संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने ओलीले बताएका छन् ।

‘संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो’, ओलीले भनेका छन्, ‘तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री