शनिबार, १५ वैशाख २०८१

अशक्तलाई घरमै नागरिकता

समयपोष्ट २०७८ असोज ३ गते १५:०८

Advertisement

शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उहाँका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिनुभएको हो । प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर जानुभएको थियो ।

दम र पक्षघातबाट पीडित दसनी हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरेको प्रजिअ गौतमले बताउनुभयो । अपाङ्गता भएकी र बिरामी ज्येष्ठ नागरिकलाई घरमै सिडिओ आएर नागरिकता प्रदान गर्नुभएकोमा खुसी लागेको उहाँकी बुहारी तारादेबीले बताउनुभयो ।

दसनी २० वर्षदेखि पक्षघात भई हिँडडुल गर्न असमर्थ रहेको र राजविराज पुगेर प्रतिलिपि निकाल्न नसक्ने भन्दै तारादेवीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आउनुभएको थियो । तारादेवीले श्रीमान् उत्तिम खंगको १० वर्ष अघि मलेसियामा मृत्यु भएपछि सासूससुरालाई स्याहार गरेर बस्नुभएको छ । तारादेवीका दुई छोरा एक छोरीमध्ये जेठा छोरा पढाइ छाडेर काठमाडौँमा सिलाइकटाइको काम गरिरहेका छन् । अर्का छोरा कक्षा ८ मा र छोरी कक्षा ९ मा गाउँकै विद्यालयमा अध्ययनरत छन् ।

आर्थिकरुपमा गरिब र विपन्न खत्वे दम्पतीका अन्य तीन छोरा घर छाडेर बाहिर ज्यालामजदुरी गरिरहेको स्थानीयवासी मुसहरुले जानकारी दिनुभयो । पक्षघात भएपछि दसनीको उपचारको लागि धेरै खर्च गरे पनि निको नभएको मुसहरुले बताउनुभयो ।

मुसहरुले २०३९ माघ २१ गते ३५ वर्षको हुँदा नागरिकता लिनुभएको थियो । उहाँकी श्रीमती दसनीले २०३९ माघ २५ गते ३१ वर्षको हुँदा नागरिकता लिनुभएको थियो । तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापर्बाहीले दुवैजनाको नागरिकता नम्बर एउटै भएकाले राष्ट्रिय वाणिज्य बैंकले कारोबार गर्न असमर्थता जनाएपछि उहाँहरुलाई समस्या परेको थियो ।

सामाजिक सुरक्षा भत्ताबाट घर चलिरहेको बताउनुभएकी तारादेवीले बैंकले पैसा दिन अस्वीकार गरेपछि रुदै कराउँदै जिल्ला प्रशासन कार्यालय धाइरहेको बताउनुभयो । नागरिकता नम्बरका कारण बैंकको खाता नम्बरमा समेत समस्या आएपछि मलेसियाबाट आउने पैसासमेत रोकिएको उहाँहरुको भनाइ छ ।

अहिले नागरिकताको प्रतिलिपिमा नम्बर फरक पारेपछि मलेसियामा मृत्यु भएका छोरा कार्यरत कम्पनीबाट बीमाबापत पाउने रु सात लाख आउने बाटो खुलेको तारादेवीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले मुसहरुको नागरिकता नम्बर ७९०३३१७५ र दसनीको ७९०३३१७६ बनाएर प्रतिलिपि हस्तान्तरण गरेको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री