शुक्रबार, ७ वैशाख २०८१

यी विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुखद्वारा संविधान दिवसको शुभकामना

समयपोष्ट २०७८ असोज ३ गते ७:५१

Advertisement

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाउनु भएको र ती प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसै अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाउनु भएको सन्देशमा उहाँले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताउनुभएको छ ।

सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा उहाँले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गर्नुभएको छ । भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनले राष्ट्रपति नेपाली जनता र राष्ट्रपति भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा उहाँले बितेको वर्ष कोभिड–१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेका बताउनुभएको छ । कूटनीतिक सम्बधमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका–नेपाल मैत्रीको उहाँले सराहना गर्नुभएको छ ।

दुई देशका जनताबीचको सम्बन्धले पारस्परिक मैत्रीलाई अझ निकट ल्याएको तथा शैक्षिक, व्यापारिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध निरन्तर विकसित भइरहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपतिले सन्देशमा नेपालको लोकतन्त्र र सार्वभौमसत्ताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री