शुक्रबार, १६ चैत २०८०

राष्ट्रिय गौरवका आयोजना : खर्च हुनै सकेन बजेट

समयपोष्ट २०७३ असोज ९ गते ४:००

आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनामा परेर पनि पश्चिम सेती आयोजनालाई भने लगानीसम्बन्धी विवादका कारण बजेट विनियोजन गरिएको थिएन । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आयोजनाको वार्षिक प्रगति विवरणमा यस्तो देखिएको हो ।

Advertisement

राष्ट्रिय गौरवका आयोजनामध्ये दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट तोकिएको अवधिमा एक रुपैयाँ पनि खर्च हुन सकेन । सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

बुढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग र पूर्वपश्चिम रेलमार्ग आयोजनाले बिनियोजन गरेको बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैनन् । यी आयोजनाले क्रमशः ५ दशमलव ०६, ३० र ४१ दशमलव ७५ प्रतिशत मात्र खर्च गरेका छन् ।

राष्ट्रिय गौरवमा परेकामध्ये ६ वटा आयोजनाले भने खर्च गर्न सफल भएका छन् । केही आयोजनाले तोकिएको बजेटभन्दा धेरै खर्चसमेत गरेको प्रगति विवरणमा उल्लेख छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विनियोजन गरिएको दुई अर्बमध्ये यो वर्ष शतप्रतिशत खर्च गरेको छ । उत्तर दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी र उत्तर–दक्षिण लोकमार्ग कोसी कोरिडोरले समग्रमा एक सय ४८ प्रतिशत प्रगति गरेका छन् ।   

 नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री