शुक्रबार, ७ वैशाख २०८१

सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण सुस्त

समयपोष्ट २०७३ भदौ २७ गते ३:३६

सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण निकै सुस्त गतिमा भइरहेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति–सम्झौता भएपछि द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको गठन गरिएको थियो । तर, १० वर्षमा २८ प्रतिशत भौतिक संरचनाको मात्र पुनर्निर्माण भएको छ ।

Advertisement

शान्ति मन्त्रालयअन्तर्गत रहेको द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका इन्जिनियर सुवास श्रेष्ठका अनुसार जम्मा १३ हजार सात सय ७७ वटा संरचनामध्ये तीन हजार आठ सय ६१ संरचनाको मात्र पुनर्निर्माण भएको छ । ‘द्वन्द्वमा भत्किएका संरचनाको पुनर्निर्माणको काम गरिरहेका छौँ, सरकारले प्राप्त बजेट विनियोजन गरेमा समयमै सक्छौँ,’ उनले भने । द्व्रन्द्वमा भत्किएका संरचनाको पुनर्निर्माणको नाममा हरेक वर्ष माग आइरहेकाले पनि समस्या भइरहेको श्रेष्ठको भनाइ छ ।

द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका अनुसार द्वन्द्वमा सबैभन्दा धेरै ४ हजार ३ सय ९४ वटा विद्यालय प्रभावित क्षति भएका थिए । गाउँ विकास समितिको भवन २ हजार ७४ वटा, सदरमुकामस्थित सरकारी कार्यालय ९ सय ८७ वटा, इलाकास्तरका सरकारी कार्यालय १ हजार ८१ वटा प्रभावित तथा क्षति भएका थिए । त्यसैगरी, जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्राविधिक कार्यालय १ सय ३१ वटा, पार्क स्मारक नमुनाबस्ती, प्रवेशद्वार, सालिक ७ सय ५८ वटा र अन्यगरी ४ हजार २ सय ५१ वटा क्षति भएका थिए ।

शान्ति मन्त्रालयले १० वर्षमा तीन हजार आठ सय ६१ संरचनाको पुनर्निर्माण भएको जनाएको छ । अहिलेसम्म विद्यालय भवन एक हजार २७ वटा, गाविस भवन एक हजार ३४ वटा, सदरमुकामका सरकारी कार्यालयहरू चार सयवटा, इलाकास्तरका सरकारी कार्यालय चार सय चारवटाको पुनर्निर्माण भइसकेको छ । जिल्ला विकास समिति कार्यालय, जिल्ला प्राविधिक कार्यालय ६२ वटा, पार्कलगायतका संरचना एक सय २८ वटा र अन्य गरी सात सय ७९ वटाको पुनर्निर्माण भएको छ ।  नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री