बिहीबार, १३ वैशाख २०८१

दसैँलाई काठमाडौंमा ६५ करोडका खसी–बोका

समयपोष्ट २०७३ भदौ २६ गते २:४९

व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ । 

Advertisement

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनले भने, ‘यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् ।’ संघमा करिब तीन सय व्यवसायी आबद्ध छन् । ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन् । दसैँमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको छ ।

भारतबाट साताको दुईपटक आइतबार र बिहीबार २० गाडी खसी–बोका आयात भइरहेको छ । एउटा गाडीमा २ सयदेखि २ सय ५० वटासम्म खसी–बोका अट्छन् । फूलपातीको आसपास पुगेपछि ५ दिनसम्म प्रत्येक दिन दैनिक २० गाडीका दरले आयात हुने संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए । ‘दसैँमा मागअनुसार खसी–बोका आपूर्ति गर्न सबै व्यवसायी तयार भएर बसेका छौँ,’ उनले भने ।

चार–पाँचजना मासु व्यवसायी उपत्यकामा भेडा–च्यांग्रा ल्याउन मुस्ताङतिर लागेका छन् । बाटोको असुविधाले यसपटक तिब्बतबाट च्यांग्रा आउनेछैनन् । व्यवसायीले मुस्ताङबाट करिब ५ हजार च्यांग्रा ल्याउने योजना बनाएका छन् । हिँडाएरै ल्याउने च्यांग्रा पोखरालगायत बीचबाटोमै बिक्री हुँदै काठमाडौंमा १ हजार ५ वटा ल्याउने लक्ष्य राखिएको थापाले जानकारी दिए । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री