शनिबार, १५ वैशाख २०८१

यसरी विस्तार हुँदैंछ मेगा बैंक,यो वर्ष १२ शाखा थप्ने

समयपोष्ट २०७३ भदौ १९ गते ४:२९

मेगा बैंक नेपालले यस वर्ष देशका विभिन्न भागमा थप १२ शाखा विस्तार गर्ने भएको छ । शाखा विस्तारका साथै एटिएम सुविधा पनि विस्तार गर्ने भएको छ । 
‘गएको वर्षमा जस्तै यस वर्ष पनि मेगा बैंकको उपलब्धि धेरै राम्रो भएको छ,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘भूकम्पको त्रासदीबाट बाहिर निस्किएर, तराईको आन्दोलन झेलेर पनि मेगा बैंकमा राम्रो प्रगति भएको छ ।’ 
उनले मेघा बैंकको वित्तीय ऋणका साथै नाफा पनि बढेको जानकारी दिँदै यो वर्ष पनि बैंकले आफ्ना सेयर होल्डरलाई बोनसका रूपमा राम्रै मुनाफा वितरण गर्ने योजना बनाएको जानकारी दिए ।
 बैंकले लोन र डिपोजिटको साइज बढाउने, जनशक्ति, शाखा विस्तार, नाफा, ऋण प्रवाहलगायतलाई चुस्त–दुरुस्त राख्दै अगाडि बढ्ने योजना बनाएको छ । 
कार्यकारी अधिकृत शाहले भने, ‘हामी मर्जर हुन चाहने विकास बैंक खोजिरहेको छौं । यो वा अर्को वर्ष कुनै विकास बैंकलाई मर्जर गराउन सक्यौं भने बैंकको आठ अर्बको पुँजी बनाउने लक्ष्यमा हामी पुग्न सक्छौं ।’ 
बैंकको मुख्य पुँजी भनेकै जनताप्रतिको विश्वास रहेको बताउँदै शाहले यो वर्ष मेगा बैंकप्रतिको विश्वासलाई अझ प्रगाढ बनाउन विशेष अभियान थाल्ने बताए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री