बिहीबार, १३ वैशाख २०८१

मुसाको कानमा बस्ने रोग यसरी फैलियो मानिसमा,  २८ जनामा संक्रमण 

समयपोष्ट २०७४ असोज ५ गते ६:४६

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

Advertisement

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्ममा १८२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । उक्त रोगबाट दुई जनाको मृत्यु भएको छ । माइट नामको एक प्रकारको सूक्ष्म कीरा ९किर्ना०ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् । 

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्मा बताउछन् । उनका अनुसार यो वर्ष नेपालमा ३२ भन्दा बढी जिल्लामा यो रोग देखिएको छ । ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा उपचार गरेर रोग निको हुने तर ढिला अस्पताल पुगे ज्यान जोखिममा पर्न सक्ने बताइएको छ । 

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखापरेको थियो । चितवनमा २०७३ सालमा पहिलो पटक रोग भएको पुष्टि भएको थियो । जिल्लामा डेङ्गु रोग भने नौ जनामा देखिएको छ । डेङ्गु नियन्त्रणका लागि जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा केही दिनअघि लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो । यस्तै मौसमी रुघाखोकीबाट झण्डै ४०० जना प्रभावित भएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री