शुक्रबार, ७ वैशाख २०८१

४० अर्बको नक्कली सिक्का १० हजार नेपालीसँग

समयपोष्ट २०७४ असोज १ गते ३:१४

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ ।

Advertisement

‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो ।

कालोधन बिटक्वाइनमा लगानी 
विगतमा अवैध रूपमा कमाएको रकम भारतीय ठूला नोटमा जम्मा गर्ने नेपालीको संख्या पनि निकै ठूलो रहेको राष्ट्र बैंकको भनाइ छ । भारतले विमुद्रीकरण गरेपछि भौतिक मुद्रामा सम्पत्ति सञ्चय गर्नु जोखिमपूर्ण भएका कारण ती मानिसले बिटक्वाइनमा लगानी गरेको अनुमान राष्ट्र बैंकले गरेको छ । बिटक्वाइन खरिद सम्पत्ति सञ्चय मात्रै होइन, लगानी पनि हो । अमेरिका, जापानलगायत विश्वका धेरै मुलुकमा बिटक्वाइनको कारोबार अवैध नभएका कारण पनि मानिसले यो मुद्रा खरिद गरी सम्पत्ति सञ्चय र लगानी गरिरहेको हुन सक्ने राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । त्यस्तै, सेना, प्रहरी र सरकारी कर्मचारीहरूले घुस खाएर कमाएर अवैध पैसा पनि बिटक्वाइनमा लगानी गरेको हुन सक्ने उनीहरूको अनुमान छ ।

सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग
नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले सम्पत्ति लैजानका लागि बिटक्वाइनको प्रयोग गरेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँछन् । राष्ट्र बैंकले नेपाली पैसा विदेश लैजाँदा डलरको सीमा तोकेका कारण नेपालीले आफ्नो सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गरेको पाइएको छ । नेपालबाट पुँजी विदेश लैजानसमेत पाइँदैन । ‘यस्तो अवस्थामा अमेरिकाको डिभी परेकालगायत विदेशमा स्थायी रूपमा बस्न जानेहरूले चल–अचल सम्पत्तिलाई बिटक्वाइनमा परिवर्तन गरेर लैजाने गरेको देखिएको छ,’ उनले भने । यहाँ बिटक्वाइन खरिद गरी विदेश जाने र त्यहाँ त्यो बचेर नगद प्राप्त गर्ने गरेको पनि देखिएको छ ।

हुन्डीको नयाँ तरिका ‘बिटक्वाइन’ 
विगतमा हुन्डीवालाले हुन्डी गर्दा यहाँ नगद लिन्थ्यो र जहाँ पैसा पठाउने हो, त्यहाँ पनि पाउनेलाई नगद नै भुक्तानी गथ्र्यो । यसो गर्दा उसले केही शुल्क पनि लिने गथ्र्यो । तर, बिटक्वाइनले हुन्डीमा पनि ‘क्रान्ति’ ल्याइदिएको छ । हुन्डीवालाहरूले पैसा पठाउन चाहनेहरू बिटक्वाइनको प्रयोगबाट अत्यन्तै कम शुल्कमा पुँजी बाहिर पठाइरहेका छन् । ‘हामी बिटक्वाइन कसले प्रयोग गरिरहेको छ भनेर सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ ढुंगानाले भने, ‘हुन्डीमा लागेका व्यक्तिले यसको प्रयोग अत्यधिक गरेको पाइएको छ ।’

हुन्डीमा संलग्न व्यक्ति र व्यापारिक घरानाहरूले बिटक्वाइनको कारोबारलाई वैध बनाउनका लागि पनि धेरै पहिलेदखि प्रयास गरिरहेको उनले बताए । व्यापारीहरूले अवैधानिक आयातका लागि बिटक्वाइनको कारोबार धेरै गर्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपालमा रेमिट्यान्सको कारोबार गर्ने केही कम्पनीले पनि यसको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ह्याकरले बढाए बिटक्वाइनको भाउ
पछिल्लो समय विश्वभरि साइबर हमला गरेर संसारभर तहल्का मच्चाएको ह्याकर समूहले त्यसबापतको फिरौती रकम बिटक्वाइनमा मागेपछि यसको भाउमा एक्कासि वृद्धि भएको थियो । ह्याकरहरूले विश्वका लाखौँ कम्प्युटरमा एकैपटक साइबर हमला गरेपछि शक्तिशाली राष्ट्रहरूले पनि यस विषयमा गम्भीर भएको बताएका थिए । तर, उनीहरूले बिटक्वाइनबाहेक कुनै पनि माध्यमको रकम ट्रान्सफर नलिने बताएपछि यसको भाउमा डबलभन्दा धेरैले वृद्धि भएको थियो । केही दिनअघि एक बिटक्वाइनको मूल्य ५ हजार डलरसम्म पुगेको थियो । तर, अहिले घटेर ४ हजार डलरको केही तल छ ।

ह्याकरहरूले अमेरिका, जापान, चीन, दक्षिण कोरिया, भारत, क्यानाडा, फ्रान्स, जर्मनीलगायतका विश्वका शक्तिशाली देशका कम्प्युटरमा एकैपटक हमला गरेका थिए । त्यसको फिरौतीबापत उक्त समूहले बिटक्वाइन दिनुपर्ने माग गरेका थिए । सोबापत विश्वभरका देशले बिटक्वाइन दिएपछि यसको भाउले आकाश छोएको थियो ।

चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध 
चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ। वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले शुक्रवार क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको हो । सरकारले जारी गरेको सूचना अनुसार ’कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध छ र यसको कारोवार गरेमा कारबाही हुनेछ,’ भनिएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ। त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् । यसको प्रत्यक्ष असर बिटक्वाइनको कारोवारमा परेको छ ।

१३ दिनमा २ लाख रुपैयाँ घट्यो बिटक्वाइनको मूल्य
-गएको १३ दिनमा बिटक्वाइनको मूल्य २ लाख नेपाली रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा २ सेप्टेम्बरमा बिटक्वाइनको मूल्य ४ हजार ९ सय ३७ डलर (५ लाख ८ हजार रुपैयाँ) सम्म पुगेकोमा १५ सेप्टेम्बरमा २९८५ डलर (३ लाख ७ हजार रुपैयाँ) मा झरेको थियो । १३ दिनको बीचमा बिटक्वाइनको मूल्य ३९ दशमलव ५३ प्रतिशतले घटेको हो । शनिबार साँझ बिटक्वाइनको मूल्य ३ हजार ७ सय ७५ डलर (३ लाख ८८ हजार रुपैयाँ) छ ।

-भारतमा सेप्टेम्बर २ मा बिटक्वाइनको भाउ ३ लाख ४० हजार १ सय १४ भारु रहेकोमा १५ सेप्टेम्बरमा २ लाख २९ हजार ४ सय १७ भारुमा झरेको थियो । चीनले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाएपछि र भारतीय रिजर्भ बैंकका एक उच्च अधिकारीले क्रिप्टोकरेन्सीको आलोचना गरेपछि भारतमा यो अभौतिक मुद्राको मूल्यमा तीव्र गिरावट आएको द इकोनोमिक टाइम्सले जनाएको छ ।

-भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका कार्यकारी निर्देशक सुदर्शन सेनले क्रिप्टोकरेन्सीलाई लिएर आरबिआईले असहज महसुस गरिरहेको बताएका थिए । आरबिआईले पटकपटक क्रिप्टोकरेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराइरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री