शुक्रबार, १४ वैशाख २०८१

मेरो गोरुको बाह्रै टक्का भनियो भने मर्जर हुँदैन

समयपोष्ट २०७४ भदौ ३० गते ४:३९

तपाईंहरूले भर्खरै मात्र एउटा मर्ज सम्पन्न गर्नुभयो, यो पछिल्लो मर्जको अनुभव कस्तो रह्यो ?

Advertisement

तुलनात्मक रूपमा हामीले धेरै मर्ज गर्यौं ।  यो मर्ज छिटो, सरल र सहज भयो भन्ने म ठान्दछु । यद्यपि यो मर्जको बेला पनि व्यवधानहरू आउन नखोजेका होइनन् । बीचमा एउटा अलमलको स्थिति भएको थियो । प्रत्येक मर्जको अन्तिमतिर जाँदा त्यसलाई बिगार्ने तत्वहरू पनि सक्रिय हुँदा रहेछन् । तर पनि छोटो समयमा अलि सहज र सरल प्रकारले यो मर्जर भयो । यो मर्जरले गर्दा नै हाम्रो चुक्ता पुँजी २ सय ५ करोड हुने कुराको सुनिश्चितता भएको छ । अब हामीलाई पुँजी पुर्याउन कुनै किसिमको धुकचुकको अवस्था रहेन । कहाँ जानुपर्ने हो, कसलाई सुम्पिनुपर्ने हो वा हामी आफैँ पुर्याउने हो भन्ने खालको द्विविधा अब रहेन । यसले त्यो सबै कुराको उत्तर दिएको छ । त्यसले गर्दा यो मर्जर महत्वपूर्ण थियो भन्ने लाग्छ । 

तपाईंले विभोरलाई यहाँसम्म ल्याउनुभयो तर नामचाहीं किन एउटा फाइनान्सको राख्नुभयो ?

केही पाउनका लागि केही गुमाउनुपर्छ । अर्को, मेरो गोरुको बाह्रै टक्का भनियो भने मर्जर हुँदैन । हामी मर्जर गर्नेहरूले लगानीकर्ताहरूको बृहत्तर हितलाई हेर्ने हो । दीर्घकालीन सोच राख्ने हो । क्षणिक रूपमा जुँगाको लडाइँ, इँगो राखेर हिँड्नुहुँदैन । अर्को, जुन नाम हामीले पाएका छौँ, त्यो साह्रै राम्रो नाम हो । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको नामबाट यो बैङ्कको नाम रहन जानु निकै राम्रो कुरा हो । हुन त विगतमा विभोरको पनि आफ्नै विशेषताहरू थिए । विभोर भनेको सप्तरङ्गी हो । सातवटा रङ्गहरू यसले देखाएको थियो । त्यसपिछ विभोर सोसाइटी डिभलप्मेन्ट बैङ्क राख्यौँ । तर भावनामा बगेर मात्र पनि भएन । यस्तो किसिमको नाम थियो भनेर अलमल हुनुभन्दा पनि के गर्दा सबै समेटिन सकिन्छ भन्ने कुराहरू पनि भयो । कसो गर्दा जनजिब्रामा झुन्डिने नाम हुन्छ भनेर पनि हेर्नुपर्ने रहेछ । विभोर सोसाइटी आफैँमा राम्रो हुँदाहुँदै पनि मानिसहरूलाई उच्चारण गर्न पनि अप्ठेरो । जनजिब्रोमा परिरहेका शब्दहरू परेन । त्यसले गर्दा लुम्बिनी भन्नेबित्तिक्कै छिटो सबैले बुझ्ने खालको भएको हुनाले यो नामलाई हामीले सहजरूपले लिएको हो । मर्जरमा सबैभन्दा चुनौतीपूर्ण जनशक्ति व्यवस्थापनको पाटो हो भनिन्छ ।

jhalak 1

कर्मचारीहरूको मन मिलाउन र सेट मिलाउन कति समय लाग्ने रहेछ ?

पहिलो कुरा कर्मचारी कस्ता हुन्छन् भन्ने कुरा बाहिरबाट हेरिएको हुन्छ, थाहा हुँदैन । कुन कर्मचारीको क्षमता, दृष्टिकोण र बुझाइ कस्तो छ, त्यो बुझिएको हुँदैन । त्यस कारण हामीले मर्जभन्दा अगाडि नै त्यस्तो खालको उत्कृष्ट तालिमको आयोजना गर्यौं । आवासीय तालिम वर्कसपको रूपमा धुलिखेलमा गर्यौं। त्यसले हाम्रा उच्चपदस्थ कर्मचारीहरू एक–आपसमा चिन्ने, मनोभावना बुझ्ने अवस्था रह्यो । त्यसले यो मर्जरलाई अरू फ्यासिलिटेट गर्यो जस्तो लाग्यो । तर पनि मानिस–मानिसको बीचमा पुग्नु, उनीहरूको चित्त बुझाउनु अनि मानिसलाई एकाकार बनाएर एउटै समूहमा एउटै उद्देश्यका लागि पाँच सयभन्दा बढीको वर्क फोर्सलाई लिएर जानु सहज पक्कै होइन । यसलाई समय लाग्छ । तर मेरो धारणा स्पष्ट छ, म एकदम पारदर्शी, सबैको भलो चिताउने, सबैको दुःखपीडालाई राम्रोसँग बुझ्न कोसिस गर्ने मान्छे हुँ । म यो संस्थाको भलाइका लागि सबैलाई मिलेर लगौँ भन्नेतिर लाग्छु । संस्थाको उज्ज्वल भविष्यका लागि सबैलाई मिलाएर लैजान सकिन्छ । 

 अहिले जति पनि मर्ज भएका छन्, ती आफ्नो रहरले भन्दा पनि पुँजी पुर्याउने बाध्यात्मक अवस्थाले जबर्जस्ती मर्ज भइरहेका छन् । यसले कस्तो असर गर्ला ?

मर्जको स्टोरी संसारभरि नै हेर्ने हो भने त्यो त्यति उत्साहवद्र्धक छैन । तर हाम्रो नेपाली परिस्थितिमा हेर्दा यो डिमर्ज हुन नपाउने, मर्ज भएपछि डिभोर्स हुन नसक्ने अवस्था छ । अर्को साना ठूलामा गाभिने हुँदा र ठूलाले आफ्नो पकडमा लिएर एउटा लाइनमा लिएर जाने हुँदा समस्या कम ल्याउँछ जस्तो लाग्छ । तर दुवै उस्तैउस्ता भए भने लामो समयसम्म जुध्छन् । खिचातानी अलि लामो समयसम्म हुन सक्छ । दुवैले मै ठीक हुँ भन्ने, आ–आफ्नो बाटोतिर लैजान खोज्ने त्यो खालका कुराहरू अलिकति हुन सक्छ । जबर्जस्ती भन्नुभन्दा पनि अहिलेको अवस्थामा बाध्यात्मक परिस्थितिमा मर्ज भएका हुन्छन् । जो गएर मर्ज हुन्छ, त्यही विन्दुबाट उसले सामान्यतया धेरै कुरा स्वीकारी सकेको हुन्छ । 

jhalak 2

 राम्रा संस्था हुनका लागि दुईवटा राम्रा संस्था मिलेर एउटा राम्रो संस्था बन्छ । तर हाम्रोमा मर्जको नाममा दुईवटै खराब–खराब संस्था मिलेर एउटा राम्रो संस्था बन्ने प्रयास गरेको देखिन्छ नि ? 

दुईवटा संस्थाका समस्याका स्वरूप भिन्दाभिन्दै हुन सक्छन् । मान्नुहोस्, एउटाको कर्जामा समस्या देखिएको छ र अर्काको सुशासनमा समस्या देखिएको छ भने ती दुईवटा मिले भने समस्या समाधान हुन सक्ला । अर्कोले त्यहाँ सुशासन दिने, अर्कोले खराब कर्जा असुलीमा योगदान पु¥याउने । त्यसो गर्यो भने त्यो समाधान हुन सक्ला । एउटा कुनै संस्थामा दूरदर्शी नेतृत्व नभएर संस्था बिग्रिएको, अर्को त्यो हुँदाहुँदै पनि कति पुँजी कम भएर, शाखा कम भएर अथवा उपयुक्त मात्रामा कर्मचारी नभएर अलमल भएको हुन सक्छ । त्यस कारण ती मिल्न सक्छन् । जस्तो– अहिले हाम्रो हेर्ने हो भने हामीले लेटेष्ट अहिले जुन मर्ज गर्यौं, त्यो मर्ज गर्दा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको पुँजी पनि राम्रो थियो, पच्पन्न–छपन्न करोड । तर शाखा धेरै थिएनन् । त्यस कारण डुब्लिकेसन कम हुन्थ्यो । अर्को, त्यहाँ सेयरको लगानी राम्रो छ । के थियो कमजोरी भन्दा खराब कर्जा ज्यादा थियो । हाम्रो खराब कर्जा कम थियो । इन्भेष्टमेट तुलनात्मक रूपमा कम थियो । हाम्रा शाखाहरू धेरै थिए । यसरी एकले अर्कालाई कम्प्लिमेन्ट गर्ने, एक–अर्काको परिपूरक हुने अवस्था भयो । हामीले मर्जरमा हेर्ने भनेका कुरा दुईवटै कमजोर पक्षले अर्काका सबल पक्षले ढाक्ने । त्यसले रेक्टिफाई गर्छ । 

पछिल्लो पटक बैङ्कहरूमा निक्षेप बढ्न थाल्यो भनिएको छ । अब यो बढेको व्याजदर घट्ने सम्भावना कत्तिको छ ?

अब त व्याज घट्छ तर सिग्निफिकेन्ट घट्दैन । म ठ्याक्कै भन्नलाई ज्योतिष होइन । तर मेरो विश्लेषणको आधारमा के देख्छु भने अब कर्जाको माग निरन्तर रहन्छ । कर्जाको माग पूर्ति गर्नका लागि निक्षेप चाहिन्छ । निक्षेप व्यवसाय वृद्धि गर्नका लागि चाहिन्छ । अर्को, हकप्र्रद सेयरमा पनि त पैसा हाल्नुपर्यो। त्यसको लागि पनि पैसा त यही मार्केटबाटै जानुपर्यो । छरिएर रहेको निक्षेप फेरि पुँजीमा परिणत हुन्छ । त्यसले पनि व्याजलाई अलिकति दबाब दिन्छ । तर स्वाभाविक रूपमा हाम्रो रेमिटेन्स पनि आइरहेको हुन्छ । सरकारी बजेट पनि खर्च भइरहेको हुन्छ । मार्केटको जुन ग्रोथ छ, २ प्रतिशत जस्तो ग्रोथ नेचुरल ग्रोथ छ, त्यसले गर्दा पनि सहज गर्ला भन्ने मलाई लाग्छ । 

jhalak 3

 तपाई डिभलप्मेन्ट बैङ्कर्स एसोसिएसनको महासचिव पनि हुनुहुन्छ । सबै बैङ्कहरूलाई युनिभर्सल बैङ्किङ प्रणालीमा लैजाने चर्चा लामो समयदेखि  चलिरहेको छ, त्यो अहिले के भइरहेको छ ?

त्यो विषयमा विशेष गृहकार्य भएको देखिँदैन । युनिभर्सल बैङ्किङमा लैजाने हो भने वित्तीय संस्थासम्बन्धी ऐन २०७३ जुन आएको छ, त्यस्तै किसिमले युनिभर्सल बैङ्किङलाई समेटेर नयाँ कानुन नै आउनुपर्यो । भर्खर बनेको कानुनमा त्यो नभएको हुनाले निकट भविष्यमा युनिभर्सल बैङ्किङमा जाने भन्ने कुरा सायद चर्चाको विषय मात्र हुन्छ जस्तो लाग्छ । यसलाई छिट्टै गरे पनि दुई–चार वर्ष लाग्छ जस्तो मलाई लाग्छ । तर अन्ततोगत्वा गएर यो देशको भलाइमा के छ भन्ने कुरा अहिले जुन विभिन्न प्रदेशहरू बनाइएको छ, सातवटा । ती सातवटा प्रदेशहरूको स्थानीय निकायहरूमा कसरी बैङ्कको उपस्थिति गराउने,  कसरी बढीभन्दा बढी जनसङ्ख्यामा बैङ्किङ पहुँच पुर्याउने, कसरी सर्वसुलभ र कम लागतमा कर्जा र अन्य सेवा सर्वसाधारणलाई कसरी पुर्याउने भन्ने कुरा महत्वपूर्ण कुरा हो । यो युनिभर्सल बैङ्किङ, ब्राञ्च बैङ्किङ, क, ख, ग, घ बैङ्किङ कुन राम्रो भन्ने गौण कुरा हो जस्तो लाग्छ मलाई । 

 लुम्बिनी विकास बैङ्कलाई मर्ज गरेर देशकै ठूलो विकास बैङ्क बनाउनुभएको छ, यस वर्ष यहाँहरुका केही नयाँ योजना छन् कि ?

हामी आत्मसमीक्षा गर्दै छौँ । हामी कहाँ फिट हुन्छौँ, हाम्रो खाँचो कहाँ छ, हामी कहाँ पुग्नुपर्छ, के लिएर जानुपर्छ । नेपाली जनताको जहाँ बैङ्किङ पहुँच छैन, त्यस ठाउँमा पुग्नुपर्यो । जहाँ रेमिटेन्स, सामाजिक सुरक्षा भत्ता, राहत, लघु उद्यम, विपन्न वर्ग, साना कृषि कर्जा नपुगेको ठाउँमा त्यो पुर्याउनुपर्यो । हामी यी कुराहरूलाई आत्मसमीक्षा गरेर त्यता लागिरहेका छौँ । आगामी दिनमा हामी पहुँच पुर्याउन चाहन्छौँ । यसको लागि शाखा खोलेर कष्टोमरबेस फराकिलो बनाउँदै सरल र सुलभ सेवा दिएर जाने हाम्रो लक्ष्य हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री